कसरी बढाउने सवारीसाधनको माइलेज ?


अधिकांशले बिहान सवारीसाधन स्टार्ट गरेपछि एक्सिलेटर दबाइरहन्छन्, वास्तवमा यसो गर्दा इन्धन सकिने हुन्छ । स्टार्ट गरेपछि एक्सिलेटर नदबाई छाडिदिनुपर्छ । इञ्जिनको टेम्परेचर गेज सुई थोरै माथि उठेको छ भने इञ्जिन २०–३० डिग्री सेल्सियस तात्यो भन्ने बुझ्नुपर्छ । अनि, सवारीसाधन चलाउन सकिन्छ ।

कतिपयले इञ्जिनबाट धुवाँ फालेको÷नफालेको पनि ख्याल राख्दैनन् । इञ्जिनको नियमित परीक्षण नगर्दा माइलेज घटिरहेको हुन्छ । इञ्जिनबाट कालो धुवाँ निस्कँदा तेल बढी खर्च भइरहेको हुन्छ ।

सवारीसाधनको राम्रोसँग ख्याल नगर्दा माइलेज त घटिरहेको हुन्छ नै साथमा गाडीको आयु पनि घटिरहेको हुन्छ । सवारीसाधनलाई नियमित रूपमा प्रतिघण्टा ४० देखि ५५ किलोमिटर गुडाउने हो भने पनि इन्धनको खपत कम हुने गर्छ । यसैगरी कच्ची र अप्ठ्यारो बाटोमा दौडिँदा तल्लो गियर र शहरी क्षेत्रमा दौडिँदा माथिल्लो गियर प्रयोग गर्दा पनि माइलेज बढ्ने हुन्छ ।

कार्बोरेटरको परीक्षण
फोहोर तेलका कारण जेट्स तथा फ्लोट बाउल निडल जाम हुने हुन्छ । यसो भएमा कार्बोरेटरले आवश्यक मात्रामा तेलको मिटरिङ गर्न सक्दैन । जसले गर्दा सवारीको इन्धन खपत बढ्न सक्छ । त्यसैले, समयसमयमा कार्बोरेटरको सफाइ गर्नुपर्छ ।

भल्भको सफाइ
समयसमयमा भल्भको सफाइ तथा परीक्षण गरेको खण्डमा एयरफिल्टर जाम हुन पाउँदैन । जाम भएको एयरफिल्टरका कारण इञ्जिनले कम हावा पाउँछ । त्यसले गर्दा तेलसँग यसको मिश्रण कम हुने र आवश्यकताभन्दा बढी तेलको खपत हुने गर्छ ।

भार कम गर्ने
गाडीमा राखिने सामग्रीको वजनबाट इन्धन बढी खपत भइरहेको हुन्छ । गाडीमा क्षमताभन्दा बढी भार हुनेबित्तिकै गाडीको इन्धन खपत स्वतः बढ्छ । अधिकांशले गाडीभाडामा खर्च कम गर्न क्षमताभन्दा बढी सामग्री लोड गरेका हुन्छन् । यसले गाडीलाई सोझो भार पर्छ र इन्धन खपत पनि बढ्छ । त्यसैले, गाडीमा आवश्यकता र क्षमताभन्दा बढी भार राख्नु हुँदैन ।

टायरको मोटाइ
सवारीसाधनको टायरको मोटाइले पनि इन्धनको बढी खपत हुने गर्छ । सवारीसाधनलाई आकर्षक पार्ने नाममा धेरैले मोटा टायर राख्न मन पराउँछन् । वाइड टायरले राम्रो लुक्स दिएको भान परे पनि यसले प्रत्यक्ष रूपमा बढी इन्धन खान्छ । मोटो टायरले गाडीको इञ्जिनमा धेरै शक्ति दिनुपर्ने दबाब पैदा गर्छ । त्यसैले, सवारीसाधनमा प्रयोग गरिएको टायरलाई परिवर्तन गर्नु हुँदैन ।

लामो समय रोक्नुपर्दा इञ्जिन अफ
सडक वा पार्किङमा धेरै समय रोकिराख्नुपर्ने अवस्थामा सवारीसाधनको इञ्जिन अफ गर्नुपर्छ । सडकमा रातो बत्ती बल्दा र लामो जाममा पर्दा इञ्जिन अफ गर्दा इञ्जिनलाई भार पनि कम पर्छ । साथै, इन्धनको बचत पनि हुन्छ ।

गियर परिवर्तन
सवारीसाधन चलाउँदा एउटै गियरमा राखेको खण्डमा पनि बढी इन्धन खपत हुन्छ । त्यसकारण समयसमयमा गियर परिवर्तन गरिराख्नुपर्छ । अनावश्यक रूपमा गियर परिवर्तन गरिरहने बानीले पनि इञ्जिनलाई बढी बोझ पर्छ । आवश्यक परेको बेला गियर परिवर्तन गर्नु राम्रो बानी हो ।

यसले इन्धनको बचाउ गर्छ । गति विस्तारै बढाउने र गतिअनुसार गियर परिवर्तन गर्दा माइलेज बढी दिन्छ । अचानक गति बढाउँदा शक्ति आवश्यक पर्ने भएकाले इन्धन बढी खर्च हुन्छ । सवारीको मागबमोजिम गियर परिवर्तन गर्दा माइलेज राम्रो दिन्छ । उकालो बाटोमा जुन गियर प्रयोग हुन्छ, सोही गियरमा ओरालो झर्नु उपयुक्त हुन्छ । अत्यधिक मात्रामा गति बढाउँदा वा झ्वाट्ट–झ्वाट्ट ब्रेक लगाउँदा पनि माइलेज कम दिन्छ ।

एक्सिलेटरमा ध्यान
एक्सिलेटरको सीधा सम्बन्ध इञ्जिनसँग हुन्छ । एक्सिलेटरले सवारीसाधनको इञ्जिन र फ्युल ट्याङ्कको सम्बन्ध जोडेको हुन्छ । पिकअप लिन बढी एक्सिलेटर दबाउँदा बढी इञ्जिन खपत हुने गर्छ ।

टायरमा हावाको चाप
टायरमा हावाको चाप पर्याप्त नभएमा गाडीको इञ्जिनमा पनि बढी चाप पर्छ र गाडीले धेरै इन्धन खान्छ । टायर पुरानो भइसकेपछि भने हावाको चाप छिटोछिटो कम हुन्छ । त्यसैले, टायरमा पर्याप्त हावाको चाप राखेर मात्रै गाडी गुडाउनुपर्छ । हावाको कम चापमा टायरको लाइफ पनि कम हुन्छ । त्यसैले, समयसमयमा हावाको चाप जाँच गरी माइलेज बढाउने उपाय अपनाउनुपर्छ ।

एयर फिल्टर
सफा इन्धन तथा एयर फिल्टरले सवारीको माइलेज बढाउन ठूलो भूमिका राख्छ । एयर फिल्टरमा धूलो तथा फोहोर जमे इन्धनसम्म हावा पुग्न सक्दैन । यसले इञ्जिनमा अतिरिक्त भार दिने भएकाले इन्धनको खपत बढ्छ ।

स्टार्ट गर्दा
पहिले स्टार्ट गर्दा चोक तानेर स्टार्ट गर्ने र स्टार्ट गरेको १० देखि १५ सेकेण्ड न्युट्रलमा राख्ने, यसो गर्दा माइलेज बढी दिने गर्छ । जाम लामो समय हुने जस्तो लागेमा स्टार्टमा राख्नु हुँदैन, यसले पनि माइलेजमा फरक पार्ने गर्छ । जामको समयमा मोटरसाइकल स्टार्ट बन्द गर्नुपर्छ ।

ब्रेक नदबाउने
ब्रेक दबाइराख्नु हुँदैन । यसले पनि माइलेजमा असर गरेको हुन्छ । त्यसैले चाहिनेभन्दा बढी फूटब्रेक नदिँदा पनि माइलेज बढ्छ । दुईपाङ्ग्रेको अघिल्लो र पछिल्लो दुवै ब्रेक कण्डिशनमा राख्न आवश्यक छ । ब्रेक जाम वा टाइट भएको अवस्थामा यसले इञ्जिनलाई बढी प्रेसर दिने गर्छ । यसले स्वाभाविक रूपमा हुने तेलको खपतमा समेत वृद्धि गराउँछ ।

प्रकाशित मितिः     १३ पुष २०७५, शुक्रबार ०८:००  |