मुख्यमन्त्री शंकर पोखरेलले भने, —‘नेपालगन्जको घ्यु र जडिबुटी भारतीय बजारमा बिशेष मानिन्थ्यो’


मुख्यमन्त्री पोखरेल शनिबार नेपालगन्जमा नेपाल -भारत मैत्री बस सेवा उद्घाटन कार्यक्रममा ।

बाँके :  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्जबाट निर्यात हुने घ्यु र जडिबुटी कुनैबेला भारतीय शहरमा बिशेष मानेर बिक्री बितरण हुने गरेको बताएका छन् । यहाँबाट बिक्री हुने घ्यु र जडिबुटी भारतीय शहरहरु लखनउ र दिल्लीसम्म खास मानेर त्यहाँका स्थानीयले किन्ने गरेको मुख्यमन्त्री पोखरेलले बताए ।
शनिबार नेपालगन्जमा नेपाल भारत मैत्री बस सेवा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालगन्जको समृद्धिका बिषयमा आफ्ना भनाईहरु राख्ने क्रममा नेपालगन्जसंग जोडिएका पुराना सन्र्दभहरु पनि स्मरण गरेका हुन । ‘ ती शहरमा नेपालगन्जको घ्यु नखाने पुरानो पुस्ता सम्भवत कमै होलान । यहाँको घ्यु शुद्ध मानिन्थ्यो । जडिबुटीको अवस्था पनि त्यस्तै थियो ।’-मुख्यमन्त्री पोखरेलले भने,-‘ नेपालगन्ज र भारतका बिभिन्न शहरबीचको आर्थिक सम्बन्ध यसरी पुरानै समयदेखि स्थापित छ ।’
मुख्यमन्त्री पोखरेलले भने जस्तै नेपालगन्जबाट केही वर्ष अघिसम्म शुद्ध घ्यु भारतका शहरहरुमा बिशेषरुपमा माग हुन्थ्यो । पहाडी जिल्लामा उत्पादन गरी नेपालगन्ज ल्याईएको घ्यु र जडिबुटी यहाँका व्यवसायीले भारतका बिभिन्न शहरमा बिक्री गर्थे । तर अहिले घ्यु बिक्री बिगत भइसकेको छ । जडिबुटीको व्यवसायिक कारोबार त हुन्छ तर त्यो पनि हरेक वर्ष घट्दै गएको छ । नेपालगन्जबाट निर्यात हुने सामानहरु बर्षेनी घट्दै छन्, आयात भने बढ्दैछ । आयात र निर्यातको यो अवस्थाप्रति चिन्ता प्रकट गर्नेको कमी छैन । मुख्यमन्त्री पोखरेलको भनाईले पनि यही कुराको पुष्टि  गर्छ ।
तर नेपालगन्जले चिन्ता मात्र गरिरहने अवस्था पनि छैन । मुख्यमन्त्री पोखरेलले यो शहरको शुन्दर भविष्यका बारेमा पनि केही बताए । भारतीय शहरसंग सिधा बस सेवा सन्चालन हुनु आफैमा सुखद पक्ष भएको बताउँदै मुख्यमन्त्री पोखरेलले थपे,—‘ दिल्ली उडानको तयारी भइरहेको छ । रेल लिंकसंग जोड्ने कुरा छन् । कर्णाली करिडोरको मुख्य ट्रान्जिट नेपालगन्ज नै हो । यसरी समग्रमा भन्दा नेपालगन्ज हरेक यातायातको साधनसंग जोडिदै छ । यसले नेपालगन्जमा समृद्धि ल्याउन सहयोग पुग्छ । नेपालगन्जको भविष्य शुन्दर छ ।’ बाँकेको नौवस्तामा बन्दै गरेको प्रदेशकै सबैभन्दा ठुलो ओद्योगिक क्षेत्रले स्वदेशी तथा बिदेशी लगानीकर्तालाई भित्राउँदा त्यसको फाईदा नेपालगन्जले नै लिने पनि पोखरेलले बताए । नेपालगन्ज पश्चिमकोद्धार भएकाले पछि पर्न नसक्ने उनले बताए ।

प्रकाशित मितिः     १४ पुष २०७५, शनिबार २०:१३  |