यसरी भयो नेपालमा बैँकिङ सेवाको संस्थागत सुरुवात


१९९४ कार्तिक ३० गतेका दिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घघाटन भएको थियो । यसैबाट नेपालमा संस्थागत रूपमा बैंकिङ्ग सेवाको शुरुवात भएको थियो । बैंक स्थापना हुनु भन्दा पहिले सम्म सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो । उक्त समयमा नेपाल बैंकले ‘क’ वर्गको इजाजत प्राप्त गरी १२ जना कर्मचारी र रामशाहपथबाट एउटै कार्यालयबाट कारोबार सुरु गरेको थियो । नेपालमा पहिलो पटक बैंक स्थापना अवसरमा बोल्दै तत्कालिन राणा प्रधानमन्त्री जुद्धशमशेरले राजा त्रिभुवनको आज्ञाले सम्पूर्ण देशको चाहाना अनुरूप गर्न लागिईरहेको यो कार्य मेरो लागि एकदम ठूलो अवसर हो भनेका थिए ।

योे भन्दा अघि नेपालमा कुनै बैंक खोल्न सकिएको थिएन । तसर्थ उक्त आवश्यकता पूरा गर्न नेपाल बैंक लिमिटेड नाममा नेपाल बैंक श्री ५ बाट उद्घाटन भएको थियो । यो क्षणलाई नेपाली बैंकिङ क्षेत्रको अत्यन्तै आनन्द तथा खुशीको क्षण मानिन्छ । स्थापना कालदेखि नै यस बैंकले धनि गरीब सबैलाई सेवा प्रदान गर्नुका साथै राष्ट्र निर्माणमा योगदान पु¥याउने उद्देश्य राखेको थियो । त्यस समयमा औपचारिक बैंकिङ्ग नयाँ अवधारणालाई धेरै कमले मात्र बुझेका थिए । भने धेरै कम मात्र बैंकप्रति विश्वस्त थिए । हकप्रद शेयर उठाउन र निक्षेप परिचालन गर्न त्यति सजिलो थिएन । जसको परिणामस्वरूप बैंकले २५ लाख रुपैयाँ मुल्यको हकप्रद शेयर निष्कासन गरेकोमा ८ लाख ४२ हजार रुपैयाँ मात्र उठाउन सफल भएको थियो ।

नेपालमा बैंक नहुनाले देशको आर्थिक समुन्नतिमा बाधा पुगिरहेको तथा जनतालाई असुविधा परिरहेकोले मुलुकको समुन्नति तथा जनतालाई सेवा पु¥याउने उद्देश्यका साथ यस बैंकको स्थापना एवं सञ्चालनको लागि यो कानून समेत जारी गरिएको बताईन्छ । बैंक स्थापनाको प्रथम वर्ष कुल निक्षेप १७ लाख २ हजार पच्चीस रुपैयाँ रहेकोमा चल्ती निक्षेप करिव १२ लाख ९८ हजार ८ सय ९८ रुपैयाँ मुद्दती निक्षेप, ३ लाख ८८ हजार ९ सय ६४ रुपैयाँ तथा वचत निक्षेप १४ हजार १ सय ६३ रुपैयाँ रहेको थियो । प्रथम वर्षको अन्तमा, कर्जा प्रवाह तथा वक्यौता गरि जम्मा १९ लाख ८५ हजार रुपैयाँ रहेको थियो । नेपाल बैंक लिमिटेड स्थापनाकाल देखि नै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैंक हो । १०० रुपैयाँ परल मुल्यका २५०० हकप्रद शेयरहरू मध्ये ४० प्रतिशत शेयरमा सरकारको लगानी थियो भने बाँकी ६० प्रतिशत शेयर निजी क्षेत्रलाई बिक्रीको लागि छुट्टयाईएको थियो । बैंक सञ्चालनको सुरुमा केवल १० जना शेयरधनीहरू मात्र रहेका थिए । यो बैंक नेपाल सरकार तथा निजी लगानीकर्ताहरूको संयुक्त लगानीमा स्थापना भएको हो ।

लपनेपाल बैंक स्थापना भएको १९ बर्षको अन्तरालपछि वि।सं। २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भयो । त्यसपछि बैंकिङ क्षेत्रको विस्तार हुने क्रम बढ्दै गयो । वि।स २०१६ सालमा नेपाल औद्योगिक विकास निगमको स्थापना भयो भने २०२२ सालमा स्थापित राष्ट्रिय वाणिज्य बैंक र २०२४ सालमा स्थापित कृषि विकास बैंकले बैंकिङ क्षेत्रको विकासको क्रममा महत्वपूर्ण इतिहास कायम गर्न सफल भए । यसै क्रममा बैंकिङ क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी ढंगबाट सुचारु गर्नको लागि नेपाल राष्ट्र बैंकको ऐन २०१२ खारेज गरी आएको नेपाल राष्ट्र बैंक ऐन २०५८ ले बैंकिङ क्षेत्रको इतिहासमा नयाँ आयाम ल्याएको छ । यसरी २०४० को दशकको उदारवादी सोचले नेपालको बैंकिङ क्षेत्रमा ल्याएको चेतना र विकास अतुलनीय बन्न गयो । www.bankingkhabar.com बाट

प्रकाशित मितिः     १५ पुष २०७५, आईतवार ०७:१८  |