लेखाप्रणालीमा ध्यान दिए समस्या हुँदैन : मुख्यमन्त्री पोखरेल


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल

बाँके : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लेखा प्रणालीलाई शुरुदेखि नै चुस्त र व्यवस्थित गर्नुपर्ने बताएका छन् । उनले अहिलेदेखि नै व्यवस्थापनमा ध्यान दिदा पछि समस्या नपर्ने बताए ।
महालेखापरीक्षक कार्यालयको टोलीसंग भएको छलफल तथा अन्तरक्रियामा उनले चासो राखेर ठीक समयमा महालेखापरीक्षकको कार्यालयको टोली आएको र यसले लेखा प्रणाली व्यवस्थित गर्न सघाउ पुग्ने बताए । महालेखापरीक्षकको टोलीसंग मुख्यमन्त्रीले भने,—‘ पछि रिपोर्टमा कैफियत निकाल्नुभन्दा पहिले सजग गराएर समस्या समाधान गरौं । कार्यालय व्यवस्थापन भए सुशासन कायम गर्न सहज हुने भन्दै प्रदेश सरकार कार्यालय व्यवस्थापनको समस्यामा परेको बताए ।
महालेखापरीक्षक टंकमणि शर्माले आर्थिक प्रणाली तथा खर्च प्रणालीलाई चुस्त बनाउनुपर्ने र त्यसका लागि समन्वय आवश्यक भएको बताए । शुरुदेखि नै समन्वय होस् भनेर आफूहरु छलफलमा आएको उनले बताए ।
प्रदेश सरकारका प्रमुख सचिव डा. तीर्थराज ढकालले प्रदेश कार्यपालिका र कार्य सम्पादनबरो जानकारी गराए । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले प्रदेशको अर्थ व्यवस्था र योजना सञ्चालन अवस्थाबारे जानकारी गराए ।

प्रकाशित मितिः     १९ मंसिर २०७५, बुधबार १७:५३  |