रेशमले थारु भाषामा सपथ लिए, संसद बैठक जान पाएनन्


काठमाण्डौं :  कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले थारु भाषामा सांसदको सपथ लिएका छन् । उनी कैलालीमा नाबालक सहित एसएसपी र अन्य प्रहरी अधिकारी मारिएको घटनामा अभियुक्त हुन ।
सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन् । चौधरीले थारू भाषामा सपथ लिएका छन् । सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए । चौधरीको सपथ कार्यक्रम राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरू पनि उपस्थित थिए। उनीहरूले पनि चौधरीलाई फूलमाला लगाए ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो। सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो । घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिएका थिए ।
उनी निर्वा्चित भए पनि सपथ लिन पाएका थिएनन् । गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए ।
डिल्ली बजार जेलमा रहेका चौधरीलाई सपथ खुवाउन प्रहरीले सिंहदरबार ल्याएको थियो । सपथपछि उनलाई प्रहरीले फेरि कारागार लगेको थियो ।
सपथ लिए पनि चौधरी संसद बैठकमा उपस्थित नहुने सचिव गोपालनाथ योगीले जानकारी दिए ।

‘उहाँमाथि तीन वर्षभन्दा बढी कैद सजाय हुने नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएको छ,’ योगीले भने, ‘पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा उहाँलाई सदस्यका हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार प्रयोग गर्ने उन्मुक्ति छैन। ।

प्रकाशित मितिः     १९ पुष २०७५, बिहीबार १५:५५  |