भेरी अन्चल अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तर गर्न स्वीकृति


बाँके : सरकारले देश नेपालगन्जको भेरी अन्चल अस्पताल सहित पाँच अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रूपान्तरण गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ । मन्त्रिपरिषद् बैठकको पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले देशका पाँच अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रूपान्तरण गर्न स्वीकृति दिएको बताएका हुन् ।

विशेषज्ञ सेवा सहितको अस्पतालमा रूपान्तरण गर्न स्वीकृत गरिएका अस्पतालहरुमा कोशी अञ्चल अस्पताल, विराटनगर, नारायणी उप–क्षेत्रिय अस्पताल, वीरगञ्ज, भरतपुर अस्पताल, चितवन, भेरी अञ्चल अस्पताल, नेपालगञ्ज र डडेलधुरा उप–क्षेत्रिय अस्पताल, डडेल्धुरा रहेका छन् । यी अस्पतालले अव विशेषज्ञ सेवामा रुपान्तरण हुनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पाउने भएका हुन् ।

सरकाले यस वाहेक विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ । सरकारले घोषणा गर्ने सार्वजनिक विदाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न गृहमन्त्री, शहरी विकास मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सम्मिलित कार्यदल गठन गरेकोमा उक्त समितिले बिहीवार अहिले कायम बिदामा थप विदासहितको व्यबस्था गरेर सार्वजनिक गरेको छ ।


यस्तै मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको, साक्षर नेपाल वर्ष, २०७६ को अवधारणापत्र स्वीकृत गरेको, ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृति दिएको, स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण सम्बन्धी कार्य्विधि, २०७५ स्वीकृत गरिएको र राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्य्विधि, २०७५ स्वीकृत गरेको मन्त्रीब ाँस्कोटाले जानकारी गराएका छन् ।

यस्तै सरकारले निम्न माथिल्लो स्यांगे खोला साना जलविद्युत आयोजना (२.४० मे.वा.), चूनढुंगा उत्खनन, पत्थरकोइला उत्खनन, याम्बालिङ खोला जलविद्युत आयोजना (७.२७ मे.वा.), रसुवा–भोटेकोशी जलविद्युत आयोजना (१२० मे.वा.) र पाथिभरादेवी दर्शन केवलकार योजना सञ्चालन गर्नका लागि वन क्षेत्र प्रयोग गर्न दिने अनुमति दिएको छ । मन्त्रिपरिषद्बाट बर्दघाट सुस्ता पश्चिम (नवलपरासी) र बर्दघाट सुस्ता पूर्व (नवलपरासी) का जिल्लाहरूमा जिल्ला वन पैदावार आपूर्ति समिति गठन गर्न स्वीकृति दिएको, बसोबास क्षेत्रका रुख हटाउन र मुक्त कमैया बसोबास क्षेत्रका रुख हटाइ व्यवस्थापन गर्न स्वीकृति दिएको, गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाल(झापा)लाई नियुक्त गरिएको पनि बताइएको छ ।

प्रकाशित मितिः     १९ पुष २०७५, बिहीबार १८:४५  |
error: Content is protected !!