भेरी सहकारीले उत्पादनक्षेत्रलाई प्राथमिकता दिने


बाँके :  भेरी सहकारी वित्तीय संस्था लिमिटेड नेपालगन्जले उत्पादनमुखी कार्यहरुलाई प्राथमिकता दिने भएको छ । आगामी दिनमा उत्पादनक्षेत्रमा लगानी गर्ने र सहकारीका शेयर सदस्यहरुलाई त्यसक्षेत्रमा प्रोत्साहित गर्ने नीति लिइने भेरी सहकारीका अध्यक्ष बसन्त लामिछानेले जानकारी दिए ।
‘ऋण दिने र लिने कार्यमा मात्र सहकारीलाई सिमित नराखौं । उत्पादनशिल क्षेत्रलाई उच्च प्राथमिकता राख्ने नीति बनाएका छौं ।’– अध्यक्ष लामिछानेले भने ‘त्यसैले आगामी दिनमा कोहलपुरमा डेरी उद्योग स्थापना गर्दै छौ. । नेपालगन्जमा पनि त्यस्तै उत्पादनशिल काम गर्ने सोंच बनाएका छौं ।’ लामिछानेले सहकारी सदस्यहरुलाई पनि उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गरे ।


२०५२ सालमा स्थापना भएको भेरी सहकारीले २०५३ सालबाट नेपाल राष्ट्र बैंकबाट सिमित कारोवार गर्ने गरी अधिकार समेत पाएको छ । अहिले भेरी सहकारीमा ३ हजार ६ सय ६९ जना शेयर सदस्य छन् । उक्त सहकारीले सहकारी ऐन २०७४ आएपछि प्रतिनिधिमुलकरुपमा साधारणसभा सम्पन्न गरेको छ । शनिबार अन्तिम साधारणसभा सम्पन्न भएको छ ।
भेरी सहकारीले चालु आर्थिक वर्षमा मात्र १७ करोड ७ लाख बढि लगानी गरेको छ । झण्डै दुई करोड शेयर पुँजी रहेको छ । उक्त सहकारीले चालु आर्थिक वर्षमा शेयर सदस्यहरुलाई प्रति शेयर रु १ सय २४ रुपैया शेयर लाभान्स बितरण गर्ने भएको छ । गत वर्ष प्रति शेयर १ सय १७ रुपैया बितरण गरिएको थियो । सहकारीको प्रमुख कार्यकारी शुशिला शर्माले आधुनिक प्रविधिका सामुहिक व्यवसायलाई प्रोत्साहन गर्नेदेखि कृषिलाई पनि प्राथमिकता दिने योजना रहेको बताईन ।
शनिबार भएको साधारणसभाका प्रमुख अतिथी नेपालगन्ज उद्योग वाणिज्य संघले उत्पादनक्षेत्रमा सहकारी क्षेत्रले प्राथमिकमा दिनुपर्ने बताए । सहकारीलाई उत्पादनशिलक्षेत्रमा जोड्न सके आर्थिक उन्नती हुने बताए । कार्यक्रममा सहकारी सन्चालक बिष्णु प्रसाद मैनाली लगायतको सहभागिता थियो । सन्चालक ज्ञानबहादुर ओलीले स्वागत गरेका थिए भने लेखा समिति संयोजक हिमबहादुर नेपालीले सन्चालन गरेका थिए ।

प्रकाशित मितिः     २१ पुष २०७५, शनिबार १३:१२  |