कृषक गहुँमा हाल्न युरिया खोज्दै, सरकारी गोदाम एक महिनादेखि रित्तै


फाईल फोटो : कृषि सामाग्री केन्द्रमा मल लिन आएका कृषक ।

बाँके :  बाँके खजुरा वडा नम्बर चारका दाताराम पौडेलले गहुँबालीमा मल हाल्न पाएका छैनन् । युरिया मलका लागि उनी एक महिनादेखि कृषि सामाग्री केन्द्र नेपालगन्ज कार्यालयमा धाइरहेका छन् । तर कर्मचारीले स्टक सकिएको भन्दै उनलाई रित्तो हात फर्कादिन्छन् ।
‘अब युरिया पाईन्छ भन्ने आश मरिसक्यो । यसपाली गहुँको उत्पादन घट्ने नै भयो ।’– दिक्क हुँदै पौडेलले यसरी दुःखेसो पोखे । उनको जस्तै दुःख छ, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर तीनका कृषक प्रेम प्रसाद लामिछानेको । जति ठाउँमा धाउँदा पनि युरिया मल पाएका छैनन् । उनी प्रश्न गर्छन,–‘दिनुपर्ने सरकारी निकायले छैन भन्छन् । अन्त कहाँबाट ल्याउने ? ’
अहिले गहुँबालीको सिजन हो । यतिबेला गहुँको उत्पान बढाउनका लागि युरिया मल हाल्ने गरिन्छ । तर कृषि सामाग्री केन्द्र नेपालगन्जले कृषकहरुलाई युरिया मल दिन सकिरहेको छैन । कृषि सामाग्री केन्द्र नेपालगन्जका प्रमुख नवलसिंह बोगटीका अनुसार एकमहिनादेखि युरिया मल गोदामा छैन । युरिया चाहियो भन्दै आएका कृषक रित्तो हात फर्काउनुपर्ने बाध्यता रहेको उनले बताए ।
‘अहिले त कत्ति पनि युरिया छैन । कृषकलाई त्यसै फर्काउनुपरेको छ ।’ बोगटीले भने–‘ यस बिषयमा केन्द्रलाई जानकारी गराएका छौं । हेरौं कहिलेसम्म आउँछ ।’ बोगटीका अनुसार मंसिर महिनासम्म २८ सय ५४ टन युरिया बिक्री भएको छ । गत वर्ष २६ सय ३३ टन बिक्री भएको थियो । यसपटक गत वर्षभन्दा धेरै युरिया बिक्री भएपनि अझै अपुग भएको बोगटीले बताए । बाँके जिल्लामा गहुँसम्मको सिजनमा पर्याप्तरुपमा युरिया बितरणका लागि छ सय टन थप चाहिने कृषि सामाग्री केन्द्रले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बाँके र बर्दियामा युरिया मलको अभाव हुँदा गहुँ उत्पादन घट्न सक्ने चिन्ता व्यक्त गरे ।

प्रकाशित मितिः     २३ पुष २०७५, सोमबार १६:१७  |