नेपालगन्ज : निर्माण सामाग्रीको व्यापारमा संलग्न व्यवसायीको लगानीमा बाँकेको खजुरामा सगरमाथा स्टील इण्डष्ट्रिज संचालनमा आएको छ । उद्योगले पहिलो चरणमा जिआइ वायर (फलामे तार) उत्पादन गर्दै परीक्षण उत्पादन शुरु गरेको छ ।
उद्योगका संचालक राहुल साहेवालाले वार्षिक २५ हजार टन उत्पादन क्षमता रहेको यो उद्योगले जिआई वायर, बार्ब्ड वायर (काँडेतार) र रिब्ड वायर (टोरकारी) उत्पादन गर्ने जानकारी दिए ।’यहाँको बजारमा पूर्वका उद्योगबाट फलामे उत्पादन आपूर्तिको हुँदै आएको छ,उनले भने, यहाँसम्म ल्याई पुर्याउँदा किलो मै साढे दुई रुपैयाँदेखि ३ रुपैयाँसम्म ढुवानी भाडाको भार थपिन्छ । स्थानीयस्तरमै उत्पादन गर्दा हामीले ढुवानी भाडाको प्रतिस्पर्धी लाभ पाउँछौ।’
बाँकेको जानकी गाउँपालिका-६ खजुराखुर्दमा करिब सात बिघा क्षेत्रफलमा डेढवर्ष अघि यो उद्योगको निर्माण कार्य शुरु भएको थियो । स्थिर सम्पतिमा २५ करोड रुपैयाँ सहित कूल ८० करोड रुपैयाँ लगानीमा यो उद्योग संचालनमा ल्याउन लागिएको हो ।यो उद्योगमा भैरहवाको सिद्धार्थ हार्डवेयर, झापाको साहेवाला समूह र नेपालगजको आनन्द हार्डवेयरको संयुक्त लगानी रहेको छ । सिद्धार्थ हार्डवेयर समूहले सिद्धार्थ ब्राण्डमा पश्चिम नेपालको प्रमुख बजारमा हार्डवेयरको थोक बिक्री केन्द्र संचालन गर्दै आएको छ । साहेवाला समूहले झापामा मेगा सिमेन्ट उद्योग संचालन गरिरहेको छ ।
बिजमाण्डु डटकमबाट