बाँके : श्रीमानको निधन भएपछि शोभा डिसी ओलीको काँधमा आफु पालिने मात्र होइन छ सन्तानको भविष्य बनाउने जिम्मेवारी पनि आइलाग्यो । त्यसै त महिलालाई हेर्ने समाजको बेग्लै सोंच अझ त्यसमा एकल महिला । श्रीमानको निधन भएपछिका दिनहरु शोभाका लागि कष्टकर रहे । बिगत सम्झता गहभरी आँशु झर्छ अहिले पनि ।
केही न केही नगरी गुजरा नचल्ने भयो । त्यसपछि गाउँकै राप्तीसोनारी शमसेरगन्ज बजारमा होटल खोलिन । त्यही होटलबाट आएको आम्दानीले घरखर्च चलेको थियो । तर सन्तानको पढाईका लागि त्यो आम्दानी अपर्याप्त बन्दै गयो । अरु केही नगरी नहुने भयो । अनि जुक्ति निकालिन् ठेकेदार बन्ने । त्यसबेला सिक्टा सिंचाई आयोजनाको काम कालिका निर्माण सेवाले लिएको थियो । उक्त निर्माण सेवासंग शोभाले आफुलाई पेटी ठेक्का दिन आग्रह गरिन । उनले काम पनि पाईन ।
‘म काम गर्न सक्छु भन्ने बिश्वास दिलाए । सरहरुले पनि त्यही बिश्वासको भरमा काम दिनुभयो । मैले दुई सय कामदार परिचालन गरी आफुलाई दिएको जिम्मेवारी पुरा गरे ।’–शोभाले भनिन् ‘पहिलो पटक पाएको काम राम्रो गरी सकेपछि यो क्षेत्रमा काम गर्न सकिन्छ भन्ने आत्मबिश्वास आयो । त्यसपछि ठेकेदार बन्ने बाटो खुल्यो ।’ शोभाले घ बर्गको नाममा निर्माण सेवा छ । तीन वर्ष अघि दर्ता गरेर उनले जिल्लाकै एक्लो महिला निर्माण व्यवसायका रुपमा परिचित बनाउन सफल भएकी छन् ।
जिल्लामा अरु महिला निर्माण व्यवसाय नभएका होइनन् तर प्रत्यक्ष काममा आफै सक्रिय हुने शोभा एक्ली हुन । उनी आफै ठेक्का पटको काममा सक्रिय हुन्छिन् । ठेक्का पार्नदेखि काम फत्ते गर्नेसम्ममा उनी रातदिन नभनी दौडिएकै हुन्छिन् । तर बिडम्बना शोभा जतिसुकै दौडधुप गरेपनि अहिलेसम्म एउटै काम पाउन सकेकी छैनन् । ‘सुरुमै कालिकाबाट जति काम पाए त्यही हो त्यसपछि पाएकी छैन ।’– शोभाले भनिन् ‘धाउने ठाउँ कुनै पनि बाँकी राखेकी छैन । जहाँ पनि पुगेकी छु । वर्षमा पचास हजारसम्म टेण्डरको फारम भर्नमै खर्च भएको छ । तै पनि पर्दैन ।’
त्यसै पनि निर्माण व्यवसाय माथि बाहुबल उपयोग हुने क्षेत्रका रुपमा चित्रण गरिन्छ । शोभालाई त्यस्तो क्षेत्रमा टिक्न कति मुस्किल भएको होला सहजै अनुमान गर्न सकिन्छ । टेण्डर हाल्न जानेबेला कर्मचारी मात्र होइन स्वयं सहकर्मीले यो काम महिलाले गर्ने होइन भनेर तितो पोख्नेसम्मको काम गरेको अनुभव उनीसंग छ । ‘तपाईले यस्तो काम गर्न सक्नुहुन्न् । तपाईहरुले गर्ने नै होइन पनि भन्नुहुन्छ । तर मलाई जुनसुकै काम गर्ने आत्मबिश्वास छ भन्छु । अरुले भनेको पछि लागेर चुप बसेकी छैन ।’– आत्मबिश्वासी हुँदै शोभाले भनिन् । आफ्नो क्षमता अनुसार जस्तोसुकै काम पनि फत्ते गर्ने उनले बताईन । शोभा भन्छिन् –‘खै महिला भनेर हेपेका पो हुन की ? काम नै दिन्नन् ।’ काम नदिए पनि उनी हार खाने पक्षमा छैनन् । निर्माण व्यवसायी महासंघमा सक्रिय भएर लागेकी छन् । अगुवा व्यवसायीहरुले साथ दिने बचन दिएकाले कुनै दिन काम पाईन्छ होला भन्ने आशामा बसेकी छन्, शोभा ।
शोभाको आफ्नै एउटा छोरा छन् । अन्य पाँच सन्तान श्रीमानको पूर्व पत्नीबाटका हुन । उनीहरुलाई पनि उनले रेखदेख गर्दै आएकी छन् । ‘यिनीहरुको भविष्यका लागि पनि हरेस नखाई काम त गर्नैपर्ने भयो ।’– शोभाले भनिन् ।