युट्युव हेरेर ५ हजार कुखुरापालन गर्ने १९ वर्षिय चलाउनेको आँट


बाँके (कम्दी) : बाँके डुडुवागाउँपालिका–९ कम्दीका नारायण चलाउने उमेरले १९ वर्षका मात्र भए । तर यही उमेरमा उनले ५ हजार कुखुरा पाल्ने आँट गरेका छन् । नेपालगन्जको जिभिएन कलेजमा प्लस टु पढ्दै गरेका चलाउनेले कुनै खास सीप सिकेर यो कामको योजना बनाएका भने होइनन् । युट्युवमा कुखुरापालन गर्ने तरिका हेरेपछि त्यसबाट प्रभावित भएका चलाउनेले यतिबेला खोर बनाउने काम अन्तिम चरणमा पुर्याएका छन् ।
उनको खोर पनि अरुको भन्दा खास बन्दै छ । ‘बाहिर जस्तोसुकै भएपनि भित्र एकै प्रकारको वातावारण हुने खोर बनाउँदै छु ।’ चलाउनेले भने –‘यसमा एक्जाष्ट फ्यान, कुलिगं फ्यान, मौसम नियन्त्रण गर्ने मेशिनहरु रहनेछन् ।’ बाँके जस्तो कुखुराका लागि मौसम प्रतिकुल भइरहने जिल्लामा यस्तो खोर प्रभावकारी हुने देखेपछि यस्तो खोर बनाउन थालेको चलाउनेले बताए ।
पहिलो चरणमा दश लाख रुपैया खर्च गरेर उनले कुखुरा हाल्दैछन् । ५ लाख ऋण र ५ लाख आफ्नै पैसा लगानी गरेर अहिले भौतिक संरचनाको काम गरिरहेका छन् । फागुणको पहिलो हप्तामा खोरमा कुखुरा हालिसक्ने उनले बताए । ‘१६ वर्षको उमेरदेखि नै कुखुरापाल्न सुरु गरेको हुँ । त्यसको पनि अनुभव छ । थप युट्युव हेरेर सिके ।’– चलाउनेले भने –‘मेहेनत गरेपछि कसो गरी सफल भईन्छ भन्ने बिश्वास छ ।’ बाँके जिल्लामै मासुको खपत गर्ने उनको योजना छ । चलाउनेका बुवा भिमबहादुरले छोराले केही गर्छु भनेपछि आफुले बिश्वासमा परेर साथ दिएको बताए ।

प्रकाशित मितिः     ३० पुष २०७५, सोमबार ०९:२१  |