जानकी, ३० पुस : जानकी गाउँपालिकाको वडा नं. ६ गनापुर स्थित पिप्रहवा चोकदेखि वडा नं. ४ खजुराखुर्दको नहर चोक जोड्ने लिङ्करोड निर्माण शुरु भएको छ । नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी सात मिटर फराकिलो र सात किलोमिटर लम्वाई रहने सडक निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले बताउनुभयो ।
‘गनापुरको भित्रसम्म उद्योगहरु खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालवाहक सवारी साधन हिँड्न कठिनाई हुँदै आएको
छ ।’–सुनारले भन्नुभयो–‘यो सडक निर्माणले गाउँपालिकामा रहेका उद्योगका सवारीसाधन आवागमनमा सजिलो हुनेछ ।’ गनापुरको पूर्वीक्षेत्रमा रहेका उद्योगहरुले नेपालगञ्ज–कोहलपुर सडक प्रयोग गर्दै आए पनि पश्चिमतर्फ भित्रीभागमा रहेका उद्योगहरुलाई यो सडक निर्माण पछि सवारी साधन आवागमनमा सहज हुनेछ । सिक्टा सिँचाईको नहर समेत यहि सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गधनीबाट ४ मिटर जमिन प्राप्त गरी ७ मिटर चौडाईको लिंकरोड निर्माण शुरु भएको उहाँले बताउनु भयो ।
‘हामीले यो सडकलाई गाउँपालिकाको रिङरोडका रुपमा प्रस्ताव गरेका थियौँ, तर रिङरोडको मापदण्डमा १२ मिटर चौडाईको सडक हुनुपर्ने भएकोले अहिलेलाई लिङ्करोडका रुपमा निर्माण शुरु गरेका छौँ ।’– गाउँपालिका अध्यक्ष रामनिवास यादवले भन्नुभयो–‘हाम्रो अनुरोधमा सिक्टा सिचाई र स्थानीय जग्गाधनीले सडक निर्माण गर्न सात मिटर छोड्न सहमत हुनुभएको छ यो भन्दा फराकिलो बनाउन सकेनौँ ।’ गाउँपालिकाको करिव डेढ करोड रुपैया र संघीय सरकार सांसद विकास कोषको डेढ करोड गरी तीन करोडको लागतमा सात किलोमिटर लम्वाईको यो सडक निर्माण शुरु भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले जानकारी दिनुभयो ।