नेपालगन्ज : भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ढाका टोपी लगाएका छन् । नेपालगन्जसंग सीमा जोडिएको रुपैडियामा सोमबार दिउँसो एकिकृत भन्सार जाँचचौकीको शिलान्यास गर्न आएका गृहमन्त्री सिंहलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले ढाका टोपी लगाईदिएका थिए ।
नेपालगन्ज हुँदै पश्चिम नेपालकै विकासका लागि प्रभावकारी हुने ठानिएको एकिकृत भन्सार जाँचचौकी शिलान्यास कार्यक्रममा नेपालगन्जबाट जिल्लास्थित प्रशासनिक र सुरक्षा निकायका प्रमुखहरु गएका थिए । त्यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, महासचिव अजय टण्डन, जडिबुटी व्यवसायी सन्जय जैन गएका थिए ।
औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएपछि भारतीय गृहमन्त्री सिंहसंग नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष बैश्यले भेटेका थिए । भेटमा गृहमन्त्री सिंहलाई ढाका टोपी लगाउँदै अध्यक्ष बैशयले आयात र निर्यात गर्दा भारतमा नेपाली व्यवसायीले झेल्नुपरेका समस्या सुनाएका थिए । जबाफमा गृहमन्त्री सिंहले समाधानको आश्वासन दिएको बैश्यले बताए ।