नेपालगन्ज भन्सारको प्रवेशबिन्दु अटोरिक्सा र म्याजिक भ्यानको ‘कब्जामा’


बाँके : नेपालगन्ज भन्सारको प्रवेशबिन्दु जमुनाह सडक अटोरिक्सा र म्याजिक भ्यानको कब्जा जमाएपछि आवातजावतमा कठिनाई उत्पन्न भएको छ ।
जमुनाहमा रहेको भन्सारको चेक प्वाईण्टको दुबै तर्फको सडक अटोरिक्सा र म्याजिक भ्यानले कब्जा जमाएका हुन्छन् । यात्रु खोज्ने नाममा अटोरिक्सा र म्याजिक भ्यानले सडकनै कब्जा गर्दा मालबाहक गाडीहरु नेपालगन्ज भित्रिन र बाहिरिन समस्या मात्र भएको छैन पैदल यात्रुलाई हिडडुल गर्न पनि समस्या भएको छ ।
नेपाल प्रवेश गर्नेद्धारमै अटोरिक्सा र म्याजिक भ्यानले गरेको यस्तो हर्कतले यस नाका हुँदै भित्रिने र बाहिरिने पर्यटकको नजरमा नेपाल बारे गलत धारणा बन्ने चिन्ता गरिएको छ ।

यसअघि अटोरिक्सा र म्याजिक भ्यान नेपाल प्रवेश गर्ने मुलगेटसम्मै जाने गरेका थिए । तर प्रहरीले हटाएपछि भन्सार प्रवेशबिन्दुमा अड जमाएर बसेका छन् । सशस्त्र प्रहरीले अटोरिक्सा र म्याजिक भ्यानबाट सडकलाई मुक्त गर्न जतिसुकै प्रयास गरे पनि सकेको छैन । अटोरिक्सा र म्याजिक भ्यानलाई सडक जाम नहुने ठाउँको बैकल्पिक व्यवस्था गर्न जरुरी छ ।

प्रकाशित मितिः     २ माघ २०७५, बुधबार ०९:२७  |