नेपालगन्ज -दिल्ली उडान : २५ वर्षदेखिको सपना


बाँके : नेपालगन्ज–दिल्ली उडान गर्ने बिषयले यतिबेला शहर तताएको छ । यो बिषय अचानक आएको भने होइन । आज भन्दा पच्चिस वर्ष अगाडी नै राँझा बिमानस्थललाई अन्र्तराष्ट्रियस्तरको बनाएर नेपालगन्ज दिल्ली उडान गर्ने कुरा जोडदाररुपमा उठेको थियो । बिडम्बना आजसम्म पनि नेपालगन्ज दिल्ली उडान हुन सकेको छैन ।
नेपालगन्ज दिल्ली उडानको चर्चा गर्दा नेपालगन्ज नगरपालिकाका तत्कालिन मेयर बिजय गुप्ताको नाम अग्रपंक्तिमा आउँछ । २०४९ सालमा मेयर भएका गुप्ताको पालामा नेपालगन्ज बिमानस्थललाई अन्र्तराष्ट्रियस्तरको बिमानस्थल बनाएर नेपालगन्ज दिल्ली उडान गराउने बिषयले निकै प्राथमिकता पाएको थियो । पुर्व मेयर गुप्ता भन्छन्,–‘अहिले पनि नेपालगन्ज नगरपालिकाको पुरानो माईन्युट हेर्नु भयो भने त्यस सम्बन्धि निर्णयहरु देख्न पाउनुहुन्छ । २५ वर्ष भए पनि कुरा ज्यूँका त्यू रहेको छ ।’

त्यसबेला नेपालगन्ज नगरपालिकाले निर्णय नै गरी नेपालगन्ज दिल्ली उडान गराउने बिषयमा केन्द्र सरकारसंग लबिङ्ग गरेको थियो । ‘नेपालगन्जको मात्र निर्णय थिएन यो । त्यसबेलाको मध्य र सुदूरपश्चिमका सबै जिल्लाका सभापतिलाई नेपालगन्जमा भेला गराएर राँझा बिमानस्थललाई अन्र्तराष्ट्रियस्तरको बनाउने बिषयमा एकमत भई निर्णय गरिएको थियो ।’ गुप्ताले भने –‘ एकपटक त पर्यटन मन्त्री रहेका रामहरी जोशीकै उपस्थितीमा जिल्ला विकास समितिमा माईन्युट भएको थियो । ’

मध्यपश्चिम र सुदुरपश्चिमका सबै जिल्लाको समर्थन पाएपछि मेयर गुप्ता उत्साहित भए । त्यही उत्साहका साथ उनी काठमाण्डौंमा पर्यटनमन्त्रीदेखि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासम्मलाई भेट्न गए । ‘रामहरी जोशी देखि चक्र बास्तोला पर्यृटन मन्त्री हुँदासम्म म नेतृत्वको डेलिगेशन टोलीले कुरा राखेको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग पनि हामी पुगेकै हौं ।’– मेयर गुप्ताले भने ‘ हुन्छ भन्ने बाहेक उपलब्धी केही भएन ।’ डेलिगेशन टोलीले प्रधानमन्त्रीलाई भेट्दा समेत बिमानस्थलको स्तरोन्नती गर्ने बिषयमा कुनै निर्णय हुन सकेन ।

‘२५ वर्ष भएपछि त्यो निर्णय गरेको तर अहिलेसम्म कुनै प्रगति भएको छैन ।’– पुर्व मेयर गुप्ताले भने । नेपालगन्जको सम्बृद्धिका लागि बिमानस्थलको बिकास अनिवार्य रहेको गुप्ता बताउँछन् । राजनीति, कानुन व्यवसाय र समाजिक सेवामा सक्रिय रहेका उनी अहिले पनि नेपालगन्ज दिल्ली उडान हुन नसकेकोमा खिन्न छन् । ‘नेपालगन्जलाई केन्द्रले फरक दृष्टिकोणले हेर्छ भनेको त्यसै होइन नी । जतिसुकै कुरा गरे पनि केन्द्रमा हाम्रा कुरासुनिदैन ।’– पुर्व मेयर गुप्ताले तितो यथार्थ पोख्दै भने, ‘इतिहासको गाथा गाएरै बस्ने अवस्थामा पुगेका छौं । हामी इतिहासमै समेटिने डर छ ।’

राजनीतिक पहुँच नभएकै कारण नेपालगन्जले समृद्धि पाउन नसकेको पूर्व मेयर गुप्ताको भनाई छ ।
अहिले देशमा शक्तिशाली सरकार छ । केही गरौं भन्ने उदेश्य बोकेका पर्यटनमन्त्री छन् । पश्चिम नेपाललाई केन्द्रले ठग्दैन भन्ने देखाउन अधिकारीकै पालामा नेपालगन्ज दिल्ली उडान होस् भन्ने चाहान्छन्, पुर्व मेयर गुप्ता । उनी भन्छन् –‘मन्त्री ज्युले नेपालगन्ज दिल्ली उडान हुन्छ भनेर घोषणा सहित कार्यान्वयन गर्नू भयो भने उहाँको संधै सम्झना भइरहन्छ । नेपालगन्जको यो सपना साच्चिकै बिपना बनाइदिने दायित्व अहिलेका पर्यटनमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको हो ।’

प्रकाशित मितिः     ४ माघ २०७५, शुक्रबार १७:२०  |