हटारुले जोडेको नेपालगन्ज -सुर्खेतको ब्यापार सम्बन्ध


भर्खरै म अढाई घण्टामा गाडी चढेर सुर्खेतबाट नेपालगन्ज पुगें । तर वर्षौअघि यही बाटो पाँच दिन हिंडिएको थियो । बिगतको कुरा सम्झँदा अनौठो लाग्दै छ । तिथिमिति राम्रोसंग ख्याल त भएन तर बि.स. २०२० तिर पहिलो पटक म नेपालगन्ज आएको थिएँ । सुर्खेत उपत्यकाबाट मेरो बज्यैले बिश्वासिलो मान्छेको साथमा नेपालगन्ज पठाउँनुभएको थियो । स्वं हरिलाल गिरी, उहाँकी धर्मपत्नी, मेरी सानीमाका पति जयलाल गिरी, अछामी कान्छा दाई गगनदेव गिरीसंग म नेपालगन्जका यात्रामा सामेल भएको थिए । गाउँमा हरिलाल गिरी दुई जना भएकाले माथि उल्लिखित हरिलाल गिरीलाई च्यारकुले र नौ हरिलाल गिरी पनि भनिन्थ्यो । जयलाल गिरीका बुवासंगको गुरु साइनोका कारण म उहाँलाई सानीमाका पति भए पनि बाजे भन्थे । जे होस्, सबै आफन्त र नातेदारसंग मेरो नेपालगन्जको यात्रा प्रारम्भ भएको थियो । मलाई अहिले पनि थाहा भएको छैन की मेरो बज्यैले मलाई किन नेपालगन्ज पठाउनुभएको थियो । नुन, तेल र लत्तापकडा ल्याउनका लागि हो भनौं भने मेरो उमेर पुगेको थिएन । सानै थिए । हुन सक्छ बज्यैले नातीले ठुला मान्छेका अगाडी लागेर नयाँ ठाउँ देखोस भन्ने चाहानुभएको थियो । पाका मान्छेका बीच म १२ वर्षको बालक ठुमठुम हिंड्दै नेपालगन्जको बाटो लागेको थिए । बाटामा झुप्राखोलाका वारिपारी, झ्ुप्रा र चिंगारबीचको बरी पाटी खोला र बिभिन्न ठाउँमा पसलहरु थिए । ढिकीले च्युउरा कुटिरहेको देखिन्थ्यो । बदाम, चिउरा, गुँड, अरु खानेहरु पनि देखे । लहरै पसल देख्दा रमाइलो लाग्थ्यो । साना पसलहरु अस्थायी प्रकारका थिए । हाम्रो टोलीको पहिलो बास लमुनाको दमारमा भयो । दमार भनेर बाक्लै रुखबृक्ष भएको ठाउँलाई भनिन्थ्यो । पुराना मान्छेहरु अझै भन्छन् होला ।

बासमा काठ काटेर शीत तर्काउने छाप्रो बनाइयो । छिटो पाक्ने गुन्द्रुक बनाइयो । त्यसकै वरीपरी सुतेर रात बिदाइयो । बासमा हामी मात्र थिएनौं, अरु हटारु पनि हुनुहुन्थ्यो । हटारु भन्नाले हाटमा गएर सामान किनी फर्किएका मान्छेलाई भन्छ । यो शब्द अब कम प्रयोग हुन थालेको छ । जे होस् एउटै थलोमा बिभिन्न धुनी, थरीथरीका भान्सा, गफ देख्दा सुन्दा साँच्चीकै नौला र रमाइलो अनुभुती भयो । भोलिपल्ट हामी हिंडेर कल्याण भन्ने गाउँ हुँदै अघि बढ्यौं । कल्याणमा अग्ला अग्ला रुखहरु थिए । त्यहाँ राजीको बस्ती रहेछ । उनीहरु डुगां चलाउन जान्ने रहेछन् । उनीहरुले नै भेी नदी तराउने रहेछन् । माछा मार्नु, गिठा तरुल खनेर खानु आदिमा नै उनीहरुको सरल जीवन बित्दो रहेछ । खेतीपाती पनि गरेको देखिन्थ्यो । भाषा भने अर्कै रहेछ । सुन्दा अचम्म लाग्दो । कल्याणबाट अघि बढ्दा भेरीको छ्ेउमा पुगियो । त्यहाँ डुङ्गाबाट मानिसहरुले वारपार गर्ने रहेछन् । मलाई भने डर पनि लागिरहेको थियो साथै नयाँ भएर रमाइलो पनि । राजीहरु डुङ्गा छेउमा ल्याथे र रस्सीले बाध्थे । ढुङ्गा चढ्ने ज्याला दिएर बस्यौ । पहिलो पटकको जलयात्राले निकै आनन्द दियो । हातले पानी चलाउँदै हामी पारि किनामा पुग्यौं र आफ्ना भारी एवं झोला बोकेर बाटो लाग्यौं । त्यहीबाट हामी छिन्चु भन्ने ठाउँमा पुग्यैं । छिन्चुमा त्यतिबेला गोठहरु मात्र थिए । दही, मही जति पनि खान पाइने रहेछ । मजाले खायौं । राति सुतेको गोठ नजिकै आवाज आइरहन्थ्यो । पाका सहयात्रीहरुले बाघ गर्जेको भने । अहिलेको छिन्चु बजार देख्दा म पुरानो बास बसेको गोठ सम्झन्छु । बाघको आवाज सम्झन्छु । अतितको सम्झनामा रमाउँछु ।

हामी अर्को दिनको बिहानै उठेर छिन्चुबाट हर्रेतिरको उकालो लाग्यौं । पानी भएको ठाउँमा खाना पकाइन्थ्यो । त्यही कतै पानी भएको ठाउँमा खाना पकाइयो । त्यसदिनको बास बबई तिर भयो । दिउँसो नास्ताको रुपमा घरबाट ल्याएर आएको चिउरा, भुजा, रोटी र अचार हुन्थ्यो । त्यहाँ बादल लागेको थियो । पानी पर्छकी भनेर हत्तपत्त छाप्रो तयार गरियो र बेलैम बास बसियो । बासहरु निश्चित ठाउँमा मात्र हुन्थ्ये । अर्को बास पुग्ने समय नपुगेर रात पर्ने भएमा वा अनिष्ट आउने समभावना भएमा बेलैमा बास बसिन्थ्यो । बबईका खोंचमा बग्ने खोला घरि घरि नाग्दै हिँड्नु पर्ने रहेछ । त्यहाँ पुग्नुअघि बबई नदी माथि तयार गरिएको धुले पुलमाथि हिंडिएको थियो । त्यो पुल पनि मलाई नौलो लाग्यो । खोलामा मुढा तेस्र्याएका पुल म मैले देखेको थिए तर त्यति लामो नदीमा यो नौलो अनुभव थियो । भोलिपल्ट बबई पारीको बासबाट हामी अघि बढ्यौ । बन्चरेको गौंडो बाटामा पर्ने रहेछ । त्यहाँ चोरडांकाले गौंडा कुरेर मान्छे मार्थे भन्ने नि मैले सुनें । हामी छिटै उकालो नाघेर देउराली पुग्यौं । देउरातीमा फुल चढाउने परम्परा रहेछ । पहिलो पटक आएको मान्छेलाई त्यहाँ उछितो नचालईन्छ भन्ने पनि मैले सुनें । म भने त्यहाँ नाच्नु परेन । त्यहाँबाट तराईको ठुलो फाँट देखियो । त्यत्रो ठुलो फाँट देख्दा के पो देखे जस्तो खुसीको अनुभव भयो । त्यस दिनको हाम्रो बास कालीबगियामा भयो । त्यहाँ रुखमुनि हामी बास बस्यौं । भेडाका बथान भएका मान्छेहरु त्यहाँ बसेका थिए । उनीहरु भेडालाई यातायातको साधनका रुपमा प्रयोग गर्दै रुगालमा नुन चामल भरेर ओहोरदोहोर गर्थे । राति भेडाहरु ीजउमा उफ्रिन आईपुग्थे र उठेर भगाउँदै पठाईन्थ्यो । शीतका थोपा पातबाट जिउँमा खस्थे तर आगाका धुनी भएकाले तिनको चिसोको खास असर पर्दैनथ्यो ।
अर्को दिन नेपालगन्जतिर लाग्दा लडियाहरु द्येखिए । साईकल गुडिएको देखियो । लडियाका चक्का सुर्खेतमा पनि देखेको थिए । तर त्यसरी गोरुले कुदाएको देखेको थिईन । साईकल कुदेको झन् कहाँ देख्नु ? मैले यी कुरा देखेर ठुलो उपलब्धी गरेको अनुभव भयो । हामी त्यस दिन नेपालगन्ज बजार पुग्यौं । यो त झन् गज्जव भयो । कति कति पसलहरु । भाँडाकुाडाका मात्रै पनि थुप्रै पसल । कपडाका चाङका चाङ भएका पसल । टमाटर, सागसब्जी र खानेकुराका पसल । मिठाई पसल । साईकल र गाडीका ओहोरदोहोर । मैले ठुलो कुरा प्राप्त गरेको थिएँ । हामी दैलेखी बङ्गलातिर बसे जस्तो लाग्छ । मजाले ढल्किदै बजार घुमियो, नयाँ खालका खानेकुरा खापइयो । कति कति मान्छेहरु किनमेलमा जुटेको हेर्न पाइयो । पसलेहरुले हटारुहरुलाई हातमा समातेर पसलतिर तानेको देखैं । त्यो भने मलाई राम्रो लागेन । यि सबै अनुभव साँचेर मनमा राखी बज्यैलाई घर पुगेर सुनाउने बिचार गरें । हामीसंग आएका मध्ये जयलाल गिरी र गगनदेव गिरी भारतको उत्तरकाशीतिर कमाई काजका लागि जानुभयो । बाँकी हामी भने फेरी यसरी नै पाँच दिनको फिर्ती यात्रा पुरा गरी सुर्खेत उपत्यकामा पुग्यौं ।

(नेपालगन्जमा  भएको शैक्षिक महोत्सवका क्रममा प्रकाशन गरिएको अभियान स्मारिकाबाट साभार_)

प्रकाशित मितिः     ५ माघ २०७५, शनिबार ०९:३८  |