मोफसलमा बुटवल शेयर बजारको केन्द्र बन्दै, दैनिक करोडको कारोबार, शेयर कारोबार बढ्दै


खस्यौली। प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल शेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुन थालेको छ। सरकारको नीतिअनुसार विभिन्न दलाल (ब्रोकर) कार्यालय बुटवलमा स्थापना भएपछि शेयर बजारप्रतिको आकर्षणले यहाँ आर्थिक कारोवार बढ्न थालेको स्थानीयले बताएका छन् ।

शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्नुका साथै बुटवलका विभिन्न दलाल कार्यालयमा शेयर बजारप्रतिको रुचिले बुटवललाई शेयर ‘हब’ का रूपमासमेत बुझ्न थालिएको रुपन्देहीस्थित सफल नेपाल इन्भेष्टमेण्ट फोरमका अध्यक्ष कमल तिवारी बताउँछन्।“बुटवल आर्थिक ‘हब’ को रूपमा स्थापित भइसकेकाले र शेयर बजार बैंकसँग सम्बन्धित भएकाले बुटवलको छनोट भएको हुन सक्छ”, उनले भने।

तिवारीका अनुसार प्रदेश नं ५ को अस्थायी राजधानी, पश्चिम क्षेत्रकै व्यापारिक केन्द्र बजार केन्द्रित व्यवसाय भएकाले बुटवलमा शेयर (ब्रोकर) दलाल कार्यालय यस क्षेत्रमा स्थापित भएका हुन् ।

एशियन सेक्युरिटिज प्रालि, २६ नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजारका लागि बुटवल अनुकूल बजार भएकाले शेयर दलाल कार्यालय यहाँ स्थापना भएको उल्लेख गर्दै व्यापारिक केन्द्रसमेत भएकाले पूँजी बजारका लागि बुटवल उदाउँदो बजार उनले बताए।शेयर बजारका जानकारले पूँजी बजार अहिले ‘वियरिस’ अवस्थाको अन्त्यमा भएको दाबी गरेका छन् । शेयर बजार ‘प्यारालाइन स्टेट’ को अवस्थामा भएको बताइएको छ ।

यस अवस्थामा बजारले करीब छ महीनादेखि एक वर्षसम्मको समय लिन्छ । खासगरी पुस, माघ र फागुन शेयर बजारका लागि ‘अफसिजन’ मानिन्छ । अबका केही महीनापछि बजार ‘बुलिस’ हुने बताइएको छ । यहाँका ब्रोकर कार्यालयमा झण्डै दैनिक रु एक करोड बढीको कारोवार हुने गरेको छ ।

बुटवलस्थित विभिन्न कलेजका व्यवस्थापन सङ्कायका विद्यार्थी, केही कर्मचारी, प्राध्यापकलगायत शेयर बजारमा अभ्यस्त हुन थालेका छन् । दलाल (ब्रोकर) कार्यालयले यस क्षेत्रमा झण्डै डेढ वर्षदेखि शेयर खरीद तथा बिक्री गर्दै आएका छन् । राससबाट साभार

 

प्रकाशित मितिः     १० माघ २०७५, बिहीबार ०८:१६  |