मोहीको जग्गा छुट्ट्याउने म्याद ५ दिन बाँकी, नछुट्ट्याए सरकारको हुने


नेपालगन्ज : सरकारले मोहियानी हक छुट्ट्याउन पछिल्लो पटक थप गरेको एक महिनाको समय सकिन ५ दिन मात्रै बाँकी रहेपनि करिब डेढ लाख मोहीले जग्गा छुट्याउन निवेदन नदिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

‘यहि माघ १५ गतेसम्म ७७ जिल्लाका भूमि सुधार कार्यालयबाट जग्गाधनी वा मोही दुवैजना नभए पनि आफन्तले निवेदन दिन सक्छन्‘ मोहियानी समस्या समाधान इकाई प्रमुख विक्रमप्रसfद पाण्डेयले भने, ‘दुई लाख ७५ हजार बढी मोहीमध्ये एक लाख ३५ हजारले मात्रै निवेदन दिएका छन्। अझै पनि एक लाख ४० हजार जति मोहीले निवेदन दिन बाँकी छ।’ मोहियानी समस्या समाधान इकाइले गत पुस १६ गते एक महिनाको लागि अन्तिम पटक समय थप गरेको थियो। थपिएको समयमा उत्साहजनक रुपमा निवेदनहरु आइरहेका छन्। यसपछि निवेदन दिन समय थप नहुने र जग्गा धनी र मोहीमध्ये कसैले पनि निवेदन नदिएमा जग्गा धनीको हिस्सा छुट्ट्याएर मोही टुङ्गो नलागेको जग्गा सरकारले जफत गर्ने भएकाले मोहिले जसरी भएपनि निवेदन दिनुपर्ने पाण्डेले बताए।

‘जग्गाधनी वा मोही कोही पनि नभएपनि अरुले निवेदन दिन पाउँछन्। पछि जग्गा बाँडफाँड गर्दा भने जग्गा धनी र मोही एक पटक उपस्थित हुनुपर्छ। त्यसपछि उनीहरुले वारेसनामा दिएको व्यक्तिले बाँडफाँड प्रक्रियामा बसेर लालपूर्जा लिन सक्छन्‘ पाण्डेयले भने।

अहिले कुनैपनि तरिकाले निवेदन दर्ता गराएका मोहीको हकमा आगामी भदौ ४ गतेसम्म समस्या समाधान गर्ने र निवेदन नआएमा कानुन बमोजिम मोहि पत्ता लागेमा संयुक्त नाममा लालपूर्जा दिने र मोही पत्ता नलागेमा सरकारले जफत गर्ने पाण्डेयले बताए।

प्रकाशित मितिः     १० माघ २०७५, बिहीबार १८:५६  |