कमर्श पढेकाको भरमा सन्चालित औषध पसल बन्द


नेपालगञ्जका : नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत् गठित बजार अनुगमन टोलीले बिहिवार नेपालगञ्जका औषधि पसलहरुमा अनुगमन गरेको छ । उपमेयर उमा थापा मगरको संयोजकत्वमा जिल्लाका सरोकारवाला निकाय सम्मिलित उपभोक्ता हक हित सरंक्षण समिति अन्तर्गत्को बजार अनुगमन टोलीले नेपालगञ्ज मेडिकल कलेज वरपरका तीन वटा औषधि पसलमा अनुगमन गरेको हो । रामलिला मेडिकल हल, सिटी फार्मेसी र सिद्धिविनायक फर्मास्युटिकल्स प्रालि फर्मा डिभिजनमा अनुगमन गरिएको हो ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका प्रमुख निनु श्रेष्ठका अनुसार रामलिला मेडिकलमा अभिलेख राख्ने तरिका नियम अनुसार नमिलेकाले त्यसलाई भोलिसम्ममा मिलाएर पेश गर्न निर्देशन दिइएको छ । त्यस्तै सिटी फार्मेसीमा सञ्चालक नभेटिएको र कमर्श पढेका व्यक्ति मेडिकलमा बसेकाले मेडिकल सञ्चालक स्वयम् औषधि व्यवस्था विभागको नेपालगञ्ज कार्यालयमा उपस्थित नहुँदा सम्मका लागि मेडिकल बन्द गराइएको श्रेष्ठले जानकारी दिनुभयो ।

सिद्धिविनायक औषधिको थोक विक्रेता भएकाले औाषधिको गुणस्तर जाँचका लागि २ वटा औषधि नमुनाको रुपमा लिइएको र त्यसलाई औषधि व्यवस्था विभाग केन्द्रिय कार्यालयमा पठाइने श्रेष्ठले बताउनुभयो । अनुगमन टोलीमा उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद कुमार पौडेल, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा लक्ष्मी प्रसाद शर्मा, औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका प्रमुख श्रेष्ठ, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राम बहादुर चन्द र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरिक्षक गणेश विष्ट सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मितिः     १० माघ २०७५, बिहीबार १८:१४  |