नेपालगन्ज : जाडो महिना सकिनै लागेको छ । नेपालगन्जका गार्मेन्ट उद्योगलाई भने गर्मीयाममा लगाउने कपडा उत्पादन गर्ने चटारो छ । यतिबेला यहाँका गार्मेन्ट उद्योगका कामदार टिर्सट, हाफपाईन्ट, पाईन्ट, जस्ता कपडा बनाउन रातदिन ब्यस्त छन् ।
‘चिसो मौसम भएपनि गार्मेन्ट उद्योगलाई गर्मीको कपडा बनाउने चटारो छ ।’ कमल गार्मेन्ट उद्योगका सन्चालक टंकसिंह धामीले भने–‘अहिले उत्पादन सुरु ग¥यौं भने गर्मी महिनासम्म ग्राहकसम्म कपडा पुग्छ ।’ धामीको कमल गार्मेन्टले पनि गर्मीको कपडा उत्पादन सुरु गरिसकेको छ । त्यहाँका कामदारहरु सर्ट, पाईन्ट जस्ता गर्मीमा लगाउने कपडा बनाउन व्यस्त छन् ।
नेपालगन्जमा दुई दर्जन बढि गार्मेन्ट उद्योग सन्चालनमा छन् । सीमित उद्योगहरु ठुलो लगानी सहित सन्चालनमा छन् भने अन्य उद्योग सानो लगानीका छन् । यि उद्योगहरुले कच्चा पदार्थ बाहिरबाट ल्याएर यहाँ कपडा उत्पादन गर्ने गर्छन् । नेपालगन्जमा गार्मेन्ट उद्योगको ठुलो बजार भएकाले यहाँ उत्पादन भएका कपडाहरु ५ नम्बर प्रदेशका पहाडी जिल्ला, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसम्म बिक्री हुने गरेको छ ।
न्यू लुम्बिनी गार्मेन्ट उद्योगकी सन्चालिका कश्मिरा खातुनका अनुसार, यहाँ उत्पादन भएको कपडाको बजार पश्चिम नेपाल नै हो । मौसम अनुसारका कपडा उत्पादन हुने गरेको उनले बताईन । ‘अहिले गर्मीयामको कपडा उत्पादन गर्न सुरु गरिसकेका छौं ।’कश्मिराले भनिन्–‘ हामी त्यही काममा व्यस्त छौं ।’