राष्ट्रिय वाणिज्य बैंक ७७ ओटै जिल्लामा पुग्ने पहिलो बैंक बन्यो


नेपालगन्ज : राष्ट्रिय वाणिज्य बैंक देशका ७७ ओटै जिल्लामा शाखा विस्तार गर्ने पहिलो बैंक हुन पुगेको छ । आफ्नो ५४औं वार्षिकोत्सवका अवसरमा बिहीवार बैंकले यस्तो जानकारी दिएको हो । यसै दिन बैंकले काठमाडौंका नक्साल, पुल्चोक र हेटौंडा शाखालाई स्मार्ट ब्रान्चमा पनि परिणत गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले डिजिटलाइज्ड बैंकिङ बनाउने क्रममा स्मार्ट ब्रान्चको आरम्भ गरिएको उल्लेख गरे । प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०७५ पुस मसान्तसम्ममा बैंकको कुल निक्षेप रू. १ खर्ब ८२ अर्ब र कर्जा लगानी रू. १ खर्ब ३४ अर्ब पुगेको बताए । चालू आवको पहिलो ६ महीनामा बैंकले रू. १ अर्ब ९६ करोड खुद मुनाफा कमाएको छ । हाल बैंकका १ सय ६५ ओटा एटीएम मेसिन, १७ स्थानमा एक्स्टेन्सन काउन्टर, ९३ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।

वार्षिकोत्सव अवसरमा बैंकका विभिन्न क्षेत्रका शाखा कार्यालयले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यसै क्रममा ५४औं स्थापना दिवसकै अवसरमा बैंकको बाँके जिल्लास्थित शाखाले निल सागर वृद्धाश्रमलाई रू. १ लाख ८५ हजार सहयोग गरेको छ । नेपालगन्जमा रहेको उक्त वृद्धाश्रमलाई सामाजिक उत्तरदायित्व बहन गर्दै बिहीवार एक कार्यक्रमबीच सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । बैंकको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयले ८० हजार, नेपालगन्ज शाखाले ५० हजार, त्रिभुवनचोक शाखाले ३० हजार र खजुरा शाखाले २५ हजार सहयोग गरेको नेपालगञ्ज क्षेत्रीय प्रबन्धक आनन्द सुवेदी बताए ।

त्यस्तै, बैंकको शाखा कार्यालय दुल्लु, दैलेखले वार्षिकोत्सवकै अवसरमा बिहीवार विभिन्न कार्यक्रम गरेको छ । २०४१ साल वैशाखमा स्थापना भएको उक्त शाखाले हालसम्म कुल ग्राहक कर्जा संख्या १ हजारभन्दा बढी र कुल निक्षेपकर्ता ७ हजारभन्दा बढी बनाउन सफल भएको जानकारी दिएको छ । शाखाले आव २०७४/७५ मा रू. १ करोडभन्दा बढी मुनाफा कमाउन सफल भएको छ ।

बैंकको क्षेत्रीय कार्यालय विराटनगर शाखाले चालू आवको पुस मसान्तसम्ममा २७ अर्बभन्दा बढी निक्षेप संकलन गरेको जानकारी दिएको छ । बैंकको ५४औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा क्षेत्रीय उपप्रबन्धक गायत्रीप्रसाद गुरागाईंले बैंकको गतिविधिबारे जानकारी दिँदै उक्त शाखाले रू. २७ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बताएका हुन् । कार्यक्रममा कार्यालयले १९ अर्ब २२ करोड कर्जा प्रवाह गरेको उनले जानकारी दिए ।

के हो स्मार्ट ब्रान्च ?
बैंकका उक्त ३ शाखा स्मार्टमा परिणत भएपछि बैंकले ल्याएको टोकन सुविधालगायतका प्रविधि प्रयोग गरिने र सेवाग्राहीले अब छिटोछरितो रूपमा सेवा लिन सकिने बताएको छ । बैंकका अनुसार यस्ता शाखाबाट अब ग्राहकले ३० लाख रुपैयाँबराबरको व्यवसाय कर्जा, २५ लाख रुपैयाँबराबरको घर कर्जा र २० लाख रुपैयाँको गाडी कर्जा निवेदन दिएको एक हप्तामै प्राप्त गर्न सक्नेछन् । पहिलो चरणमा तीनओटा शाखालाई स्मार्ट ब्रान्चमा परिणत गरेकोे बैंकले क्रमशः सबै शाखालाई स्मार्टमा परिणत गर्ने जानकारी दिएको छ ।

प्रकाशित मितिः     ११ माघ २०७५, शुक्रबार ०७:५१  |