बाँकेलाई साक्षर घोषणा गर्न ढिलाई , प्रभावकारी काम गर्न मन्त्री बरालको निर्देशन


शुदर्शन बराल, मन्त्री, सामाजिक विकास, प्रदेश ५

नेपालगन्ज : बाँकेका स्थानीय तहले साक्षरता सम्बन्धी तथ्यांक समेत पेश गर्न सकेका छैनन् । साक्षरता सम्बन्धी कुनै प्रगति हुन नसकेपछि फागुणको पहिलो सातासम्म बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम तुहिएको छ ।
जिल्लास्थित सरकारी निकायले गत साउन महिनामा बृहद छलफल गरी आगामी फागुण ७ सम्म बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने सहमति गरेका थिए । तर त्यसका लागि कुनै पनि प्रगति हुन सकेको छैन । शुक्रबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपालगन्जमा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र प्रशासकिय अधिकृतसंग छलफल गरेका छन् ।
छलफलका क्रममा जिल्लास्थित जनप्रतिनिध र प्रमुख प्रशासकिय अधिकृत, सम्बन्धीत स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुले साक्षरता घोषणा गर्न आईपरेका चुनौतीका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । साथै साक्षरता जिल्ला घोषण गर्ने समय आगामी असार महिनासम्म तोकिनुपर्नेमाा पनि जोड दिएका थिए ।
मन्त्री बरालले साक्षरता जिल्ला घोषणा गर्न प्रभावकारीरुपमा काम गर्न निर्देशन दिदै अन्यथा जनप्रतिनिधिकै सुविधा कटौती गर्ने चेतावनी
दिए । सबै नागरिकलाई साक्षर बनाउने अभियानमा लापरवाही नगर्न पनि मन्त्री बरालले चेतावनी दिए । कार्यक्रममा प्रदेश सभाषद कृष्णा केसी नमुना, आईपी खरेल, जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तव लगायतको सहभागिता थियो । प्रदेश सांसदद्धय केसी र खरेलले बाँकेलाई साक्षरता घोष्णा गर्न आइृपर्ने समस्या समाधानका लागि पहल गर्ने बताए ।

प्रकाशित मितिः     ११ माघ २०७५, शुक्रबार १९:४९  |