भन्सार प्रमुखले भने,–‘भन्सार छले बहादुर भईन्न, बैश्यले सोधे,–‘संधै शंकाले हेर्ने ?’


नेपालगन्ज : अन्र्तराष्ट्रिय भन्सार दिवशको अवसरमा शनिबार नेपालगन्ज भन्सार परिसरमा आयोजित कार्यक्रममा चोरीपैठारी र सामाग्रीको मुल्यांकनका बिषयमा भन्सारका प्रमुख र उद्योगी, व्यवसायीबीच सवाल जवाफ भयो । भन्सार प्रमुखले राजश्व छलीलाई बहादुरी सम्झिने प्रबृद्धि बढेको भन्दै घुमाउरो भाषामा व्यवसायीलाई कठ्घरामा उभ्याए भने आयात, निर्यात हुने सामाग्रीको स्वघोषणामा समेत व्यवसायीहरु इमानदार बन्न नसकेको आरोप लगाए ।

भन्सारका थुप्रै चुनौतीका बिषयमा आफ्नो बिषय राखेका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले भने,‘हामी कहाँ राजश्व छली गर्न सकियो भने बहादुरी सम्झिने गरिने प्रबृत्ति छ ।’ भन्सारलाई व्यवस्थित गर्न खोज्दा अवरोध सिर्जना गर्न खोजिएको पनि निरौलाले गुनासो गरे । राज्यप्रति जिम्मेवार बन्न उद्योगी, व्यवसायीलाई आग्रह गर्दै निरौलाले चोरीपैठारी नियन्त्रणमा सघाउनुपर्ने बताए । उनी लगत्तै बोलेका बरिष्ठ उद्योगपति कन्हैयालाल बैद्यले बैज्ञानिक प्रणालीहरु लागु भइसकेको समयमा सामाग्रीको घोषणा कुनै टाउको दुखाईको बिषय नै नरहेको बताए । उनले यसलाई ठुलो समस्याका रुपमा हेर्न नहुने पनि बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले कुनै एकाध व्यवसायीले गर्ने गल्तीमा सबैलाई नमुछ्न आग्रह गर्दै भने,–‘यदि सबै खराव भएको भए भन्सारले लक्ष्य पुरा गर्न सक्दैन थियो । त्यसकारण संधै हामीलाई आंशका गरेर नहेर्नुहोस् ।’ चोरी पैठारी नियन्त्रणमा संघले महत्वपुर्ण भुमिका निभाएको बताउँदै बैश्यले राज्यप्रतिको दायित्व कुनै पनि व्यवसायीले नबिर्सिएको तर राज्यले संधै शंकाको नजरले हेर्ने गरेको भन्दै दुःख व्यक्त गरे । धेरै राजश्व संकलन गर्नका लागि स्वदेशी उद्योग, कलकारखाना चलाउने वातावारण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीबास्तवले जिल्लाभित्रकै मेलाबाट ल्याईएका भैंसीलाई अवैध भन्दै बुझ्दै नबुझेर एकदिनमै लिलाल गरिएको आरोप लगाए । गरिव परिवारलाई त्यसरी दुःख दिने काम भएको श्रीवास्तवले भनेपछि भन्सार प्रमुख निरौलाले कानुन बमोजिम भैंसी लिलाम भएको जवाफ फर्काए ।

प्रकाशित मितिः     १२ माघ २०७५, शनिबार १४:१५  |