नेपालगन्ज : प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ५ का निर्देशक जीतबहादुर शाहको चौथो कृति ‘शिक्षा र सिर्जना’ सार्वजनिक गरिएको छ । मन्त्री बरालले शनिबार शाहकै निवास नेपालगन्ज, कारकाँदोमा पुस्तकको बिमोचन गरे ।
शिक्षाक्षेत्रमा सुधारका धेरै कामहरु गरेका शाहले यसअघि शैक्षिक ग्रन्थ, शिक्षा, सुनपानी र सपना, विद्यार्थी देव भवः कृति सार्वजनिक गरिसकेका छन् । पुस्तक बिमोचनपछि बोल्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री बरालले शैक्षिक सुधारमा शाहको कृति शिक्षा र सिर्जना उपयोगी सावित हुने बिश्वास गरे । सही मार्गनिर्देशनको अभावमा शिक्षा क्षेत्रमा सुधार हुन नसकेको बताउँदै मन्त्री बरालले उक्त पुस्तकले शिक्षामा सुधार ल्याउने चाहानाका लागि औषधीको काम गर्ने बताए ।
पुस्तकका बिषयमा बोल्दै बाँकेका साहित्यकार महानन्द ढकालले बिद्यार्थी, अभिभावक, शिक्षकका लागि नयाँ पुस्तक बहुउपयोगी सावित हुने बताए । पुस्तक बिमोचनको व्यवस्थापन शर्मा साहित्य प्रतिष्ठानले गरेको थियो । कार्यक्रममा प्रदेश ५ का प्रदेश सांसद सुरेन्द्र हमाल, कर्णाली प्रदेशका प्रदेश सांसद ठम्मर बिष्ट, साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र शर्मा, शिक्षा क्षेत्रका उच्चपदस्थ कर्मचारी, जनप्रतिनिधि, सामाजिक क्षेत्रका अगुवा लगायतको सहभागिता थियो ।