बाँके : बाँके र बर्दियामा तत्काल छोटी भन्सार सन्चालन हुने सम्भावना नरहेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिमराम निरौलाले जानकारी दिएका छन् । मुख्य भन्सार नाकालाई व्यवस्थीत गर्दै लैजाने भन्सार बिभागको नीति र भारततर्फ समेत भन्सार संयन्त्र नभएका कारण छोटी भन्सार तत्काल सन्चालन हुने सम्भावना नरहेको उनले बताए ।
छोटी भन्सार सन्चालनका बिषयमा भन्सार बिभाग र भारतकी समकक्षी निकायसंग छलफल भएको र सबै संयन्त्रको विकास गरेर आगामी दिनमा भन्सार गर्ने समझदारी बनेपनि तत्काल सन्चालन गर्ने सम्भावना नरहेको निरौलाले बताए । उनका अनुसार भन्सार बिभागले पनि हालकै मुख्य भन्सार बिन्दुलाई व्यवस्थित गर्दै लैजाने नीति बनाएको छ । त्यस्तै नेपालतर्फ छोटी भन्सार रहेका सीमावर्ती भारतीय क्षेत्रमा भन्सार सम्बन्धी संयन्त्रण नभएका कारणले पनि छोटी भन्सार सन्चालन तत्काल आउन नसक्ने उनले बताउ ।
यसअघि राजपत्रमा प्रकाशित बिबरण नेपालमा रहेका छोटी भन्सारको जानकारीमात्र रहेको भन्सार कार्यालयले जानकारी दिएको छ । तर कतिपयले त्यसैलाई भन्सार सन्चालन हुने भन्ने अर्थमा बुझेको निरौलाले बताए । बिगतमा छोटी भन्सारहरु सन्चालन भएको भएपनि द्धन्द्धकाल पछि बन्द छन् ।
२०७५ मंसिर ३ गते गते रापजत्रमा यस सम्बन्धी बिबरण प्रकाशित भएको थियो । जसमा अर्थमन्त्रालयले जारी गरेको सूचना राखिएको छ । बाँकेमा नेपालगन्ज भन्सार मातहत हुने गरी नरैनापुर, साईगाउँ, भगवानपुर, भगोटना, खडैचा, उदरापुर, सुईया बघौडामा छोटी भन्सार छन्। स्तै बर्दियामा राजापुर भन्सार कार्यालय र गुलरिया, टपरा, धनौरा, छेदापुर, पडरिया, कोठियाघाट, ताराताल, गणेशपुर छोटी भन्सार छन् ।