एनआइसी एसिया बैंकको छलाङ


छोटो अवधिमै व्यवसाय विस्तारमा छलाङ मारेको बैंक हो एनआइसी एसिया। दुई वर्षको छोटो अवधिमा बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दोब्बरले बढाएको छ। २०७३ पुस मसान्तसम्म ७९ अर्ब निक्षेप संकलन गरेको बैंकले २०७५ पुस मसान्तसम्म १ खर्ब ७५ अर्ब पुर्याएको छ। यस अवधिमा कर्जा प्रवाह ६६ अर्बबाट बढाएर १ खर्ब ४९ अर्ब पुर्याएको छ। दुई वर्षअघिसम्म मध्यमस्तरमा रहेको बैंकको व्यवसाय अहिले सबैभन्दा उच्च छ।

निक्षेप संकलन र कर्जा प्रवाहका आधारमा अहिले बैंक एक नम्वर पोजिसनमा देखिएको छ। सर्वसाधारणलाई वित्तीय चेतना जगाउँदै, शाखा विस्तार गर्दै जाँदा व्यवसाय बढ्दै गएको बैंकको दावी छ। शाखा संख्याका आधारमा समेत बैंक अहिले एक नम्वरमा छ। देशभर २७३ शाखा पुगेको छ, शाखा विस्तार गर्ने क्रम जारी नै छ।

व्यवसाय विस्तार गर्दै जाँदा बैंकको नाफा पनि बढेको छ। यस आर्थिक वर्ष पुस मसान्तसम्म बैंकले १ अर्ब ५१ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ। दुई वर्षअघि यस अवधिमा बैंकले ७२ करोड खुद नाफा कमाएको थियो।

बढेको व्यवसायअनुरुप अझै नाफा बढ्न नसकेको देखिन्छ। तर क्रमिक रुपमा नाफा पनि उच्च दरले बढ्ने संकेत बैंकको वित्तीय विवरणले देखाएको छ।  ग्रामीण क्षेत्रमा रहेका कतिपय शाखा नाफामा जान नसकेकाले यस्तो असर परेको हो। उच्च नाफा कमाएका बैंकहरु शाखा विस्तारमा एनआइसी एसियाभन्दा पछाडि छन्।

चुक्ता पुँजी ८ अर्ब ८३ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ४१ करोड रुपैयाँ छ। व्यवसाय विस्तार गर्दै जाँदा निश्क्रिय कर्जा भने घटाउँदै लगेको छ। दुई वर्षमा बैंकको निश्क्रिय कर्जा ०. ७२ प्रतिशतबाट घटेर ०. ३० मा झरेको छ। यसको अर्थ नउठेको पुरानो ऋण उठाउन बैंक सफल भएको छ भने नयाँ ऋणमा निश्क्रिय कर्जा नगन्य छ।

बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ पुगेको छ। चुक्ता पुँजी बढाउँदाका बाबजुत पनि आक्रामक रुपमा व्यवसाय बढेपछि प्रतिसेयर आम्दानी बढेको हो। दुई वर्षअघि प्रतिसेयर आम्दानी २४ रुपैयाँ थियो।

बैंकको आधार व्याजदर ९. ३३ प्रतिशत छ। निक्षेप तथा कर्जाको औसत व्याजदर अन्तर (स्प्रेड दर) ४. ९ प्रतिशत छ।आगामी चैत मसान्तसम्म यो दर ४. ७५ प्रतिशतको सीमाभित्र झानुपर्ने चुनौति बैंकलाई देखिन्छ।

त्यस्तै असार मसान्तसम्म यो दर ४. ५० प्रतिशत मुनि ल्याउनुपर्ने व्यवस्था छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट १०. ५३ प्रतिशत लाभांश प्रदान गरेको छ।

थप लगानीका लागि बैंक सहज अवस्थामा भने देखिँदैन। पुस मसान्तसम्म बैंकको सिसिडी रेसियो ७८. ७१ प्रतिशत छ। मुलुकको बढ्दो शोधनान्तर घाटा र सरकारी बजेट कार्यान्वयनको अवस्थालाई बैंकले बाह्य चुनौतिको रुपमा औंल्याएको छ।

दोस्रो बजारमा बैंकको सेयर प्रतिकित्ता ३९५ रुपैयाँको हाराहारीमा छ। यस आवको दोस्रो त्रैमासिक अवधिसम्म बैंकको अधिकतम सेयर मूल्य ४५३ रुपैयाँसम्म पुगेको छ भने न्यूनतम मूल्य ३५१ रुपैयाँसम्म झरेको छ।

बैंकको मूल्य आम्दानी अनुपात ११ छ। प्रतिसेयर आम्दानीका आधारमा बैंकको सेयर सस्तो रहेको यसले देखाउँछ। www.bankingkhabar.com बाट ।

प्रकाशित मितिः     १५ माघ २०७५, मंगलवार ०९:१५  |