नेपालगन्ज : प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआईजि पिताम्बर अधिकारीले हतियारधारी अपराधी बिरुद्ध कडारुपमा प्रस्तुत हुने बताएका छन् । प्रदेश भित्र अपराधकर्ममा लागेका बिरुद्ध ‘इनकाउन्टर’का घटना घटिरहेका बेला प्रदेशको सुरक्षा कमाण्ड सम्हालेका डिआईजि अधिकारीले त्यस्ता अपराधी बिरुद्ध आगामी दिनमा प्रहरी झन् सशक्तरुपमा लाग्ने सन्देश दिएका हुन ।
‘हतियार बोकेर आउने अपराधीसंग हतियारबाटै ट्याकल गरिन्छ । हतियार सहित संगठित अपराधमा नियन्त्रण गर्नका लागि कडारुपमा प्रस्तुत हुनु बाहेक अर्को बिकल्प छैन ।’– प्रदेश प्रहरी प्रमुख जिम्मेवारी सम्हालेको तीन महिनापछि पहिलो पटक नेपालगन्जका पत्रकारहरुसंग मंगलबार कुराकानी गर्दै डिआईजि अधिकारीले यस्तो भने । उनले हतियार सहितको संगठित अपराध, चन्दा आतंक, महिला हिंसा, हत्या जस्ता गम्भीर प्रकृतीका घटनाहरु प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान गर्ने र कुनै पनि कमजोर हुन नदिने स्पष्ट पारे ।
सवारी दुर्घटना नियन्त्रण प्रदेश ५ का लागि चुनौतीपुर्ण बनेको बताउँदै डिआईजि अधिकारीले महेन्द्रराजमार्गमा रात्रीकालिन सवारी दुर्घटना नियन्त्रण गर्न बिशेष अभियान चलाउन लागेको जानकारी दिए । प्रदेश सरकारसंगको समन्वयमा प्रहरीले बर्दघाटदेखि चिसापानीसम्म सिसि टिभी क्यामेरा जडान गर्ने तयारी गरिरहेको डिआईजि अधिकारीले बताए ।
मातहतका प्रहरी कर्मचारीलाई प्रचारमुखी भन्दा परिणामुखी बन्न निर्देशन दिदै डिआईजि अधिकारीले भने,–‘हाम्रो मुल उदेश्य के हो ? त्यसैलाई बुझेर काम गरौं । स्ट्ण्ड देखाउने होइन ।’ परिणामुखी भन्दा चर्चामुखी बन्नुको कुनै अर्थ नरहने डिआईजि अधिकारीले बताए । पहुँच नभएकालाई सहजै सेवा उपलब्ध हुने वातावारण सिर्जना गर्न उनले मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । पत्रकार भेटघाटमा बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेल लगायतका सुरषा अधिकारी सहभागि थिए ।