तेह्र बैंकको नाफा साढे १५ अर्ब, कुन बैंकले कति कमाए ?


बैंकिङ खबर /काठमाण्डौं : ६ महिनामा १३ वाणिज्य बैंकहरुले साढे १५ अर्ब खुद नाफा कमाएका छन्। यी बैंकको नाफा हेर्दा औसतमा एउटा बैंकले ६ महिनामै १ अर्ब बढी नाफा कमाउन सक्षम भएका छन्।  एक वर्षको समीक्षा अवधिमा यी बैंकहरुको नाफा ३० प्रतिशतले बढेको हो। गत वर्ष यसै अवधिमा यी १३ बैंकको नाफा ११ अर्ब ८७ करोड थियो। अन्य १५ बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरिसकेका छैनन्। तर यी १३ बैंकको विवरणले बैंकहरुको नाफा एक वर्षमा ३० प्रतिशतभन्दा बढीले बढ्ने निश्चित प्रायः छ।

वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरु कसैको पनि खुद नाफा घटेको छैन। सार्वजनिक विवरणअनुसार रकमका आधारमा नविल बैंकले सबैभन्दा धेरै २ अर्ब १७ करोड खुद नाफा कमाएको छ।  वृद्धिदरका आधारमा भने एनआइसी एसिया बैंक अग्रस्थानमा छ। बैंकको नाफा १६४ प्रतिशतले बढेको छ। गत आवको ६ महिनामा ५७ करोड नाफा कमाएको यो बैंकले अहिले सोही अवधिमा १ अर्ब ५१ करोड कमाएको छ।

कुन बैंकको नाफा कति ? 

बैंक अहिलेको नाफा (२०७५ पुस) पहिलेको नाफा (२०७४ पुस)
नविल बैंक २ अर्ब १७ करोड ६८ लाख १ अर्ब ८३ करोड ७७ लाख
नेपाल इन्भेष्टमेन्ट १ अर्ब ९७ करोड ५५ लाख १ अर्ब ८३ करोड ४ लाख
एनआइसी एसिया १ अर्ब ५१ करोड १४ लाख ५७ करोड १७ लाख
एभरेष्ट १ अर्ब ४२ करोड ९९ लाख १ अर्ब २२ करोड २८ लाख
एसबिआई १ अर्ब २ करोड २७ लाख ९१ करोड ३० लाख
सिद्धार्थ १ अर्ब ६ करोड ९४ लाख ८६ करोड ९३ लाख
ग्लोबल आइएमई १ अर्ब २२ करोड ९३ लाख ९७ करोड ९९ लाख
माछापुच्छ्रे ७८ करोड १३ लाख ४८ करोड ६५ लाख
प्रभु १ अर्ब ४ करोड १८ लाख ६० करोड ११ लाख
सानिमा बैंक ९८ करोड २० लाख ८३ करोड ५ लाख
सनराइज बैंक ७९ करोड २७ लाख ५८ करोड ७६ लाख
सिटिजन्स ७७ करोड ३ लाख ६२ करोड ८६ लाख
कुमारी ६७ करोड ६२ लाख ५२ करोड २० लाख

कसरी बढ्यो बैंकहरुको नाफा ?

धेरैलाई लाग्न सक्छ, बैंकहरुले ऋणमा धेरै व्याज लिएर नाफा बढाए। बैंकहरुले पैसा जम्मा गर्नेलाई व्याज दिन्छन्, ऋण लैजानेबाट व्याज लिन्छन्। ऋण लैजानेबाट लिएको व्याजबाट पैसा जम्मा गर्नेलाई दिइसकेपछि बाँकी रहेको आम्दानीमा विविध खर्च कटाएपछि बैंकहरुको नाफा आउने हो।

बैंकहरुको आम्दानीको मुख्य स्रोत नै व्याज हो। व्याजबाहेक अन्य सेवा शुल्कहरुबाट पनि आम्दानी हुन्छ। यो सबै आम्दानीबाट खर्चहरु घटाएपछि नाफा निस्कने हो। बैंकहरुले ऋण लगानी गरेवापत लिने व्याजदर र निक्षेप लिएवापत बचतकर्तालाई दिने औसत व्याजदरको अन्तरलाई स्प्रेड दर भनिन्छ। यस्तो दर अधिकतम ५ प्रतिशत तोकिएको छ। यद्यपी आगामी असार मसान्तसम्म यो दर साढे ४ प्रतिशतमा झार्नुपर्छ।

अर्थात बैंकहरुले व्याजवापत ५ प्रतिशतभन्दा बढी नाफा लिन पाउँदैनन्। जस्तै बैंकहरुले बचतकर्तालाई दिने औसत व्याजदर ८ प्रतिशत छ भने ऋणीबाट पनि औसतमा १३ प्रतिशतभन्दा बढी लिन पाउँदैनन्। यस्तो स्प्रेडदर ५ प्रतिशत नाघेमा राष्ट्र बैंकले कारबाही गर्ने प्रावधान छ। त्यसकारण ऋणीबाट धेरै व्याज असुलेर नाफा बढाए भन्नु तर्कसंगत हुँदैन।

नाफा बढ्नुुमा पहिलो कारण व्यवसाय बढ्नु हो। बैंकहरुमा निक्षेप संकलन बढ्दै गएको छ, कर्जा पनि बढ्दै गएको छ। गत वर्षको पुस मसान्तसम्म २२ खर्ब १४ अर्ब निक्षेप संकलन भएकोमा अहिलेको पुस मसान्तसम्म बैंकहरुमा २६ खर्ब ५० अर्ब संकलन भयो।


निक्षेप संकलन भइसकेपछि यो रकम कर्जावापत बैंकहरुले दिन्छन्। यसरी दिने कर्जा रकम पनि स्वतः बढ्छ, बढेको छ। गत वर्षको पुस मसान्तसम्म १९ खर्ब २२ अर्ब कर्जा प्रवाह भएकोमा अहिलेको पुस मसान्तसम्म २३ खर्ब ४४ अर्ब प्रवाह भएको छ। यो भनेको बैंकहरुको व्यवसाय बढ्नु हो, तसर्थ नाफा स्वतः बढेको हो।

अर्को कुरा बैंकबाहेक अरु निजी उद्योगकारखानाको नाफा बढेको कुरा कसैलाई थाहा हुँदैन। बैंकहरु पब्लिक कम्पनी भएकाले हिसावकिताव प्रत्येक त्रैमासिक अवधिमा सार्वजनिक गर्नुपर्छ। निजी उद्योग कारखानाले पर्दैन। जसले गर्दा सबैको ध्यान बैंकहरुको नाफामा बढी केन्द्रित भएको हो।

बैंकबाहेक अन्य उद्योगहरुको नाफा पनि वर्षेनी यसैगरी बढ्दै जान्छ। ति उद्योग क्षेत्रलाई बरु नाफाको सीमा तोकिएको हुँदैन, प्रतिस्पर्धाले स्वतः कम नाफा लिनका लागि दवाव पुगेको हुन्छ।

के गर्छन् बैंकहरुले यो नाफा ?

बैंकको नाफा के गर्छन् भन्ने कुरा पनि कतिपयलाई खुल्दुली होला। आर्थिक वर्षको अन्त्यसम्म अर्थात एक वर्षसम्म भएको नाफाबाट सेयर लगानीकर्तालाई लाभांशका रुपमा बैंकहरुले प्रदान गर्छन्। अहिले कतिपय बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरिरहेका छन्। कतिपयले दिइसके।

सेयर लगानीकर्तालाई दिएर रहेको बाँकी रकम बैंककै कोषमा जम्मा हुन्छ। कोषमा गएको रकमबाट लगानीकर्ताले बोनस सेयर समेत प्राप्त गर्छन् भने बैंकलाई भैपरी आउन सक्ने आर्थिक जोखिम त्यही कोषको रकम प्रयोगबाट समाधान गरिन्छ। कोषको रकम वर्षेनी बढ्दै गएको पाइन्छ। त्यो पनि लगानीकर्ताकै सम्पत्ति हो।

बैंकले कमाएको नाफा तपाईले पनि लिन चाहेमा पाउनुहुन्छ। त्यसका लागि तपाईसँग बैंकको सेयर हुनुपर्छ। बैंकको सेयर दोस्रो बजार (नेप्से)मा किन्न पाउनुहुन्छ। त्यसकारण बैंकको नाफा पनि तपाई हामी सबैले मिलेर लिने हो।

बैंक जति सबल भयो, सेयरको मूल्य पनि बढ्दै जान्छ। सेयरको मूल्य बढेर हुने फाइदा अर्कोतिर नाफा बढेर आउने धेरै लाभांशले हुने फाइदा दुवैमा तपाईहामी नै सहभागी हुन सकिन्छ।

प्रकाशित मितिः     १७ माघ २०७५, बिहीबार ११:३४  |
error: Content is protected !!