नेपालगन्जमा ‘सेल्टर’ बनाएर सेवासिंहको नाममा राणाबिरोधी लेख छपाउथे शहीद दशरथ चन्द


कमल डाँगी
नेपालगन्ज : देशमा भएका अनेकन राजनीतिक परिवर्तनका आन्दोलनमा धेरैले सहादत्त पाएपनि शहीद भन्ने बित्तिकै चार जनाको नाम सबैभन्दा पहिले आउँछ । ती हुन धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्द । यि मध्ये शहीद दशरथ चन्दको नेपालगन्ज सम्बन्ध बिशेष छ । दशरथ चन्दको बारेमा सम्भवत धेरैलाई थाहा छ । तर उनको नेपालगन्जसंगको सम्बन्धका बारेमा कमैलाई थाहा हुन सक्छ । दशरथ चन्दको नेपालगन्ज सम्बन्धका बारेमा पुराना पुस्तक, उनका परिवारका सदस्यसंगका भेटघाट तथा कुराकानीबाट प्राप्त जानकारी यहाँ प्रस्तुत गर्दैछौं ।
शहीद दशरथको बाल्यकालका केही वर्षहरु नेपालगन्जमै बित्यो । उनले यहीबाट अक्षर चिन्न सुरु  गरे । यति मात्र होइन ठुलो भएपछि राणा शासन बिरुद्ध दशरथले नेपालगन्जमा बसेर संघर्ष सुरु गरेको जानकारहरु बताउँछन् । नेपालगन्जलाई सेल्टर बनाएर उनले राणा बिरोधी अभियाननै सन्चालन गरेका थिए । जीवनको महत्वपुर्ण कालखण्ड दशरथ चन्दले नेपालगन्जमै बिताए ।

दशरथ चन्दका साईलो भाई ललित चन्दका नाती गौरव चन्द ।

दशरथ चन्दको जन्म वि.सं. १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भयो । शहीद माइला भन्नाले दशरथ चन्द बुझिन्छ । आमा ओजकुमारी नेपालगन्जकै भएकाले दशरथको मावली घर यही भएको इतिहासकारहरु बताउँछन् । उनका पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफ्टिनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ । सुर्खेतमा पल्टनको जागिरे भएका कारण शेरबहादुरको नेपालगन्ज आवत –जावत सामान्य थियो । उनले नेपालगन्जमै बिहे गरे । ओजकुमारीको माईलो छोराका रुपमा जन्मिएका दशरथको बाल्यकालमा चार वर्षसम्म उनी नेपालगन्जमै बसेको कुरा पुस्तकहरुमा उल्लेख भएको पाईन्छ । तर उनी कुन स्कुलमा पढे भन्ने कुरा स्पष्ट छैन ।
शहीद शतवार्षीकी जन्मजयन्तीको अवसरमा प्रकाशित अमर शहीद दशरथ चन्द स्मृति ग्रन्थमा ‘पाँच वर्ष जतिको उमेरमा पिता पल्टनको जागिरमा सुर्खेत जानु परेकाले उतै लगेको’ उल्लेख छ । प्रारम्भिक शिक्षा सुर्खेत, नेपालगन्जमा भएपछि दशरथ पढाईका भारतको अल्मोडामा गएका थिए । त्यहाँ उनको एउटा दिदीको बिहे भएको थियो । जसले गर्दा पढाई र बसाईमा सहज भयो । बि. स १९७७ मा अल्मोडामा चन्द कक्षा छ मा भर्ना भएको पाईन्छ । प्राथमिक तहको पढाई अल्मोडामा गरेपछि दशरथ उच्च शिक्षा अध्ययनका लागि वनारस आय । त्यहाँबाट उनले आईएसम्मको पढाई पुरा गरी बि. स १९८८ तिर नेपालगन्ज हुँदै काठमाण्डौं गएका थिए ।
काठमाण्डौ गएपछि दशरथ चन्द परिवर्तनको आन्दोलनमा सहभागि भए । बि. स १९९२ सालमो फाल्गुण महिनातिर काठमाण्डौंको भिमफेदीमा टंकप्रसाद आचार्यसंग भेटघाटसंगै गोप्यरुपमा राजनीतिक संस्था खोल्ने बिषयमा छलफल भयो । उक्त संस्थाको संस्थापक पछि अध्यक्ष समेत भइसकेका रामहरि जोशीले ‘अमर शहीद दशरथ चन्द स्मृति ग्रन्थमा’ दशरथ चन्दकै बारेमा शीर्षकको लेखमा यस सम्बन्धी बिस्तृतरुपमा लेखेका छन्,‘१९९३ साल जेष्ठ २० गते स्वर्गीय टंकप्रसाद आचार्य, शहीद दशरथ चन्द, शहीद धर्मभक्त माथेमा, स्व. जीवराज शर्मा, म रामहरि शर्मा समेत धर्मभक्तको निवासमा एक घण्टाको छलफलपछि गीताको पुस्तक शीरमा राखेर प्रजा परिषद गठन गर्ने निर्णय ग¥यौं ।’ पार्टीको उदेश्य प्राप्तिका लागि बिभिन्न क्षेत्रमा बिभिन्न कामहरु गोप्य हिसावले गर्दै जाने उनीहरुको योजना अनुरुप दशरथ चन्द पार्टीको प्रचारका लागि भारत गए । त्यसबेला भारतमा अंग्रेजको शासन थियो । अंग्रेज शासनमा नेपालका राणा बिरुद्ध अभियान चलाउनु असम्भव जस्तै थियो । राजनीतिक अभियान चलाउन चन्द मद्रास, कलकत्ता, दिल्लीसम्म गए । जतिसुकै शहर धाएपनि उनले राणा बिरोधी अभियानका लागि कसैबाट सहयोग पाएनन् । ‘अन्त्यमा उनी बिहार गए । त्यहाँको जनता साप्ताहिकले सहयोग गर्ने मन्जुरी दियो । त्यस पत्रिकाका सम्पादक रामबृक्ष बेनिपुरीजीले जस्तोसुकै कठिनाई सहन परे पनि म तपाईको काममा मदत गर्छु भन्ने आश्वासन दिएछन् ।’ रामहरि जोशी लेख्छन्–‘त्यसपछि दशरथ चन्दले नेपालगन्जमा आफ्नै भाई ललित चन्दको घरमा बसी सेवासिंको नाउँबाट आर्टिकल पठाउन थाल्नुभएछ । यस प्रकार छ, सात वटा राणा बिरोधी लेखहरु नेपाल प्रजा परिषदको नाउँमा छापिएपछि तत्कालीन अंग्रेज सरकारले जनता साप्ताहिक प्रतिबन्ध लगाई बेनिपुरीजीलाई सजाय समेत गरेछ ।’



यो घटनापछि दशरथ चन्द दकाठमाण्डौं गएको रामहरि जोशीको आफ्नो लेखमा उल्लेख गरेका छन् । त्यही गोप्यरुपमा उनले संघर्ष शुरु
गरे । तर राणाहरुले उनीहरु बिरुद्ध कडा अभियान नै सुरु गरे । अन्तिम अवस्थामा १९९७ मा गिरफ्तार गरियो । सोही वर्षको माघ १४ गते काठमाण्डौंको शोभा भगवतीमा उनको गोली हानी राणाहरुले हत्या गरे । यसरी नेपालगन्जसंग खास सम्बन्ध रहेका एकजना सशक्त राजनीतिक अभियानताको भौतिक जीवन समाप्त भयो । तर यतिका वर्षसम्म उनी दशरथ लगायत अन्य शहीदहरुलाई सबैले सम्झिरहन्छन् ।

दशरथ चन्दका नाती गौरवसंग भलाकुसारी

नाती गौरव चन्द ।

दशरथ चन्दले नेपालगन्जमा भाई ललित चन्दको घरमा बसेर राजनीतिक आन्दोलन गरेको कुरा यसअघि नै उल्लेख गरिसकिएको छ । चन्दका सन्तानहरु अहिले पनि नेपालगन्जमा बसोबास गर्दै आएका छन् । नेपालगन्जको गगनगन्ज जो अहिले दशरथचन्दका नामले चिनिन्छ, त्यहाँ बसोबास गर्छन, उनका नाती गौरव । दशरथ चन्दका पाँच भाई थिए । जेठो गोकर्ण, माईलो स्वं दशरथ, साईलो ललित, काइलो चन्द्रबहादुर र कान्छो जसलाई भोटे बुवाका नामले परिवारले पहिचान गर्छन ।
नेपालगन्जनमा दशरथका साईलो भाई ललित चन्दका परिवारहरु बसोबास गर्छन । ललितका छोरा सुरेन्द्र चन्द,गौतम चन्द, नेपाल भुषण चन्द हुन । उनीहरु नेपाली सेना, प्रशासन र राजनीतिमा सक्रिय थिए । सुरेन्द्र चन्द बर्दियाको जिल्ला पंचायत भए । नेपाल भुषण चन्द नेपाली सेनाको सेकेण्ड म्यान नै थिए । गौतम चन्द प्रहरीको डिएसपी थिए । दशरथ चन्दका जेठो दाई गोकर्णका छोरा, नातीहरु पनि बिभिन्न पेशामा छन् ।
दशरथका साईलो भाई ललित चन्दका नाती गौरव नेपालगन्जमा रहेर राप्रपाको राजनीतिमा सक्रिय छन् । धेरैलाई गौरब दशरथ चन्दका नाती हुन भन्ने थाहा छैन् । म फलानोको नाती हुँ भन्दै हिड्ने कुरा पनि भएन । कतिले यो कुरा थाहा पाउ भने ठट गरेको सम्झिन्छन रे । उनी भन्छन्,–‘चन्द भएर भनेको होला भन्छन् । ठट गर्छन साथीहरु ।’ दशरथप्रति देशले गर्व गरिरहेका बेला उनको नाती भएर जन्मिन पाउनु आफ्नो लागि गौरवको बिषय भएको उनी बताउँछन् ।
परिवारका तर्फबाट दशरथ चन्दको इतिहास जोगाई राख्न बिभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ । बैतडीदेखि नेपालगन्जमा समेत यस्ता कार्यक्रमहरु भइराखेको गौरवले बताए । नेपालगन्जमै पनि दशरथ चन्दको सम्मानमा सडक र टोलको नाम नामाकरण गरिएको छ ।

प्रकाशित मितिः     १६ माघ २०७५, बुधबार १९:३३  |
error: Content is protected !!