नेपालगन्ज : होमस्टे एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय कार्याशाला गोष्ठी एवं सम्मेलनले नेपाल सरकारसंग संघीय तथा प्रादेशिक होमस्टे सम्बन्धी ऐन तथा कार्यविधि अविलम्ब निर्माण गर्न माग गरेको छ । साथै, होमस्टे सम्बन्धी ऐन, नियम तथा कार्यविधि निर्माण गर्दा होमस्टे एशोसिएसनको प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न अनुरोध गरिएको होमस्टे एशोसियसनका केन्द्रीय सचिव कृष्णलाल चौधरीले जानकारी दिए ।
नवलपरासीको पिप्रहर सामुदायिक होमस्टे ग्राममा माघ १८ गतेदेखि २० गतेसम्म सम्पन्न भएको सम्मेलनले यस्तो माग गरेको हो । सम्मेलनले आगामी वर्षबाट होमस्टे एशोशिएशन नेपालका संस्थापक अध्यक्ष स्व. श्री श्यामसुन्दर श्रेष्ठ ज्यूको सम्मानमा स्व. श्यामसुन्दर श्रेष्ठ स्मृति उत्कृष्ट होमस्टे प्रोत्साहन पुरस्कार र होमस्टे संस्थापक स्याङजा शिरुवारीका स्व. क्याप्टेन श्री रुद्रमान गुरुङ ज्यूको सम्मानमा स्व. रुद्रमान गुरुङ स्मृति उत्कृष्ट होमस्टे पत्रकारिता पुरस्कार घोषणा गरेको छ । त्यस्तै देशभरिका होमस्टेको सूचना सम्प्रेषण, बजारिकरण, समन्वय र होमस्टे प्रवद्र्धनका लागि आवश्यक पहलकदमी गर्न होमस्टे सूचना केन्द्र स्थापना गर्ने, नेपालमा होमस्टे ब्यवसाय माटो सुहाउँदो ब्यवसाय हो भन्ने ठहर गर्दै देशभर होमस्टे सम्भावना भएका स्थानहरुमा होमस्टेको प्रवद्र्धनमा जोड दिने घोषणा गरिएको छ ।
त्यस्तै पर्यटन ब्यवसाय सहकारीतामा आधारित सेवामुलक ब्यवसाय हो भन्ने निस्कर्षमा पुग्दै देशभरमा रहेका सरकारी तथा गैरसरकारी सरोकारवाला निकायसँग सहकार्य एवं समन्वय गर्दै अगाडी बढ्ने उल्लेख छ । सम्मेलनले केशव बडालको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा यदुमणी निरौला, धनिश्वर बस्याल, बाबुराजा महर्जन, रामबहादुर चौधरी, शारदा आचार्य, दिलकुमारी राना, कौशीला मैनाली छन् । महासचिवमा प्रेमशंकर मर्दिनिया थारु, सचिवमा कृष्णलाल चौधरी र कोषाध्यक्षमा सुरज बास्तोला चयन भएका छन् ।