‘घुईयाको भाउ’ महङ्गो छ बजारमा


नेपालगन्ज : ‘घुईयाको भाउ’–सबैभन्दा कम मुल्य पर्ने कुनै बस्तु चिनाउन प्रयोग हुने शब्द हो यो । अर्थात घुईया मात्र यस्तो बस्तु हो जसको भाउ ज्यादै न्युन हुन्छ ।  तर अब यो कुरा घुईयाको हकमा लागु हुँदैन । तपाईले घुईया माथि बनेको यो चलनचल्तीको भनाई प्रयोग गर्नुभयो भने गलत साबित हुनुहुनेछ । किनकी नेपालगन्ज बजारमा अब्बल भनिएका तरकारीको मुल्यलाई घुईयाले उछिनेको छ । अरुको मुल्य घटिरहेका बेला घुईयाले राम्रै बजार पिटेको छ भने मुल्य घट्ने होइन बरु बढेको छ ।

सबैभन्दा बढि रुचाइने टमाटर २ रुपैया प्रति केजि बिक्री भइरहेको छ । बन्दा गोपी त झन् रु ५ मा पनि बिक्री भइरहेको छैन । अरु तरकारीको मुल्य पनि यही हाराहारीमा  छ । तर घुईयाको मुल्य थोकमा रु ३० र खुद्रामा रु ५० सम्म पुगेको छ । यो मुल्य नेपालगन्जमा निकै पहिलेदेखि रहेको घुईया बिक्री गर्दै आएका अवरात हर्वलका सिरताज सिद्धिकीले बताए । उनले भने,–‘यसको मुल्य घट्दैन । बरु बढ्छ ।घुईयाको भाउ भनेर भन्नुको अर्थ छैन अब ।’


घुईया पहाड र तराईमा फरक हुन्छ । तराईमा गर्मी सिजनमा घुईया हुन्छ जुन सानो हुन्छ । त्यसको मुल्य पनि न्यूनतम ५० देखि सयसम्म
हुन्छ । पहाडमा घुईयालाई पिडालु पनि हुन्छ । जुन चिसो मौसममा फल्छ । यतिबेला पहाडको घुईया नेपालगन्जमा बिक्रीका लागि ल्याईएको छ । सिद्धिकीका अनुसार घुईया नेपालीले मात्र नभई भारतीयहरुले पनि रुचाउँछन् । मासु, तालमा मिसाएर खान रुचाउनेहरुले नेपालगन्जबाट किनेर लैजाने गरेको त्रिभुवनचोकस्थित अकरम तरकारी पसलका सन्चालक मुविन सल्मानीले बताए ।

‘घुईया रुचाउने मानिसहरु धेरै छन् । घुईयाको बजार राम्रै छ ।’– सल्मानीले भने । घुईयाको बजार राम्रै भएपनि पहाडी जिल्लामा यसको उत्पादन घट्दै गएको छ । बजारिकरणको अभावमा केह िवर्षमै घुईया उत्पादन पुर्णरुपमा बन्द हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित मितिः     २२ माघ २०७५, मंगलवार ११:११  |
error: Content is protected !!