नेपाल राष्ट्र बैंकबाट घ वर्गकोे इजाजतपत्र लिएर काम गरेका संस्थाहरु नै लघुवित्त वित्तीय संस्थाहरु हुन् क। लघुवित्त भनेको थोरै आय आर्जन भएका वा प्रचलित बैंकहरुसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरुप्रति लक्षित वित्तीय सेवा हो ।
लघुवित्त विकास बैंकहरु ग्रामीण भेगमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमा पुगेर वित्तीय चेतनाको विकास गर्ने तथा सानो सानो कर्जा प्रवाह गर्ने गर्दछन् । लघुवित्त संस्थाहरुले गरीब तथा विपन्न व्यक्तिहरुलाई बिना धितो कर्जा उपलब्ध गराउँदै आइरहेका छन् ।
गरिव तथा विपन्न वर्गमा केन्द्रित
कुनै पनि व्यक्ति राज्यको नागरिक भएता पनि गरिबीका कारण बैंक तथा वित्तीय संस्थाबाट सेवा तथा सुविधाहरुको उपयोग गर्नेबाट वञ्चित भएकाले लघुवित्त वित्तीय संस्थाको विकास भएको हो । त्यसैले कुनै पनि वित्तीय सेवा लघुवित्त हुनका लागि आफ्ना वस्तु तथा सेवा गरिबलाई केन्द्रित गरी बनाउनुपर्छ । साथै, गरिब तथा विपन्न वर्गलाई नै सेवा दिने खालको हुनुपर्छ । गरिबीका लागि कार्यक्रम भनेर धनीलाई सेवा दिने कार्यले गरिबमाथि अन्याय अवश्य सिर्जना हुन्छ र लघुवित्त क्षेत्रको दिगोपनामा पनि समस्या उत्पन्न हुन सक्छ । यसका लागि लघुवित्त संस्थाहरूका साथै सम्बन्धित नियमन निकाय समेत सजक भई गम्भीरताका साथ यसको सुधार कार्यलाई अगाडी बढाउनुपर्छ ।
सानो सानो वित्तीय सेवा
लघुवित्त संस्थाहरुले सर्वसाधरणहरुलाई प्रदान गर्ने सेवा तथा सुविधहरु सानो सानो हुनुपर्छ । लघुवित्तले प्रदान गर्ने ऋण, रेमिटयान्स र बीमा जस्ता सेवाहरु सानो आकारको हुनुपर्छ । सेवाग्राहीले सानो भन्दा सानो ऋण तथा बचत लिन पाउने हुनुपर्छ ।
बिनाधितो ऋण
लघुवित्तबाट सर्वसाधरणहरुलाई प्रवाह गर्ने कर्जा बिनाधितो हुनुपर्छ भन्ने मान्यता छ । तर, लघुवित्त संस्थाहरुले सबै व्यक्तिहरुलाई बिनाधितो कर्जा दिन असम्भव हुन्छ । यद्यपि, धितो राख्न सम्पत्ति नहुने गरिब तथा विपन्न वर्गहरूका लागि उनीहरुको आर्थिक अवस्था मुल्यांकन गरेर लघुवित्तले बिनाधितो कर्जा प्रवाह गर्ने गर्दछ । लघुवित्त वित्तीय संस्थाहरुले बिनाधितो कर्जा लगानी गरेकाले ग्रामीण भेगका गरिब तथा विपन्न मानीसहरुले पनि वित्तीय सेवा पाईरहेका छन् । हाल लघुवित्त कार्यक्रममा पनि धितो लिने व्यवस्था गरिएको छ ।
गरिबमैत्री पद्धति
गरिब परिवारका मानीसहरु अशिक्षित हुन्छन् । त्यसकारण कर्जा लिने प्रक्रियाका साथै कर्जा असुलीका सम्बन्धमा भर्नुपर्ने कागजात वा फाराममा भएका अङगे्रजी अक्षर बुझ्न सक्दैनन् । त्यस्ता फारामहरु नेपाली अक्षरमा हुनुपर्ने मान्यता छ । साथै, लघुवित्त संस्थाहरुले गरिबीहरुको आर्थिक अवस्थामा टेवा दिने खालका कर्जा सुविधा तथा प्रतिफल प्राप्त क्षेत्रतर्फको लगानीलाई बढि प्रोत्साहन गर्नुपर्छ ।
घरदैलो वित्तीय सेवा
कुनै पनि वित्तीय पद्धति लघुवित्त हुनको लागि लघुवित्त सेवाहरुलाई प्रभावकारी रुपमा गरिबहरुको घरदैलोसम्म पुर्याउनुपर्छ । गरिब तथा विपन्न मानिसहरुको बसोबासको थलो भनेको ग्रामीण क्षेत्र भएका कारण लघुवित्त संस्थाहरु सहरी क्षेत्रमा मात्र सिमित नभई गाउँ गाउँमा जानुपर्छ ।
थोरै कर्जा असुली
लघुवित्त संस्थाहरुबाट कर्जा लिने भनेका गरिब तथा विपन्न वर्गहरु नै हुन् । त्यसकारण ती गरिब मानिसहरुबाट लघुवित्तले धेरै रकमको कर्जा एकैचाटि असुली गर्ने खोज्नु हुँदैन । उनीहरुको व्यवसायको आम्दानीको आधारमा कर्जा असुली थोरै थोरै गरी उठाउनुपर्छ ।
सबै वित्तीय संस्थाहरु लघुवित्त हुन सक्दैनन् । लघुवित्त संस्थाहरु ती हुन्, जसले गरिब तथा विपन्न वर्गहरुमाथि लगानी गरेको हुनुपर्छ । साथै, गरिब तथा विपन्न वर्गहरुको आर्थिक अवस्था हेरेर बिना धितो कर्जा प्रवाह गर्ने हुनुपर्दछ । लघुवित्त हुनका लागि ग्रामीण भेगका कमजोर आर्थिक अवस्था भएका वर्गलाई समेटने खालका कार्यक्रमलाई संचालन गर्नुपर्छ । बैंकिङ खबर