सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने प्रक्रियामा बाँकेको पानस फर्मास्युटिकल्स्


बाँके :  योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन बाँकेका उद्योग प्रतिष्ठानले पनि चासो दिएका छन् । यहाँका उद्योगले पनि सुरक्षा योजनानमा सूचिकृत हुने प्रक्रिया शुरु गरेका छन् ।
बाँकेको औषधी उत्पादक कम्पनी पानस फर्मास्युटिकल्स्ले सबैभन्दा पहिले सूचिकृत हुने प्रक्रिया सुरु गरेको छ । सम्पुर्ण प्रक्रिया पुरा गरिसकेको पानसले सामाजिक सुरक्षा कोषमा निवेदन समेत दिईसकेको छ । सामाजिक सुरक्षा कोषका अनुसार बाँकेमा माघ १ गतेबाट रोजगारदातालाई सुचिकृत हुन सुचना जारी गरिसकेको छ । पानसले त्यो भन्दा अघि नै सबे प्रक्रिया पुरा गरिसकेको थियो । कोषमा सहभागि नहुने रोजगारदाता बिरुद्ध श्रमिकले कोषमा उजुरी दिन सक्ने भएका छन् । उजुरीका आधारमा छानविन गरेर त्यस्ता रोजगारदाता माथि कारवाही गर्न सक्ने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले  बताए ।


तर कार्यक्रम सुरुवाती चरणमै भएकाले अहिले नै कारवाही वा सजाय जस्ता बिषयलाई प्राथमिकतामा नराखिएको उनले बताए । कोषका कार्यकारी निर्देशक अधिकारीले बिहिवार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा भने,–‘श्रमिक मात्र नभई रोजगारदाता सबैको हित हुने गरी ल्याईएको कार्यक्रम सफल पार्नमै अहिले केन्द्रीत रहौं । कारवाही तथा सजायको बिषयलाई महत्व नदिउ ।’ उनले अहिले सबै रोजगारदातालाई सूचिकृत हुन आग्रह गरे ।
‘सूचिकत हुन आईपरेका समस्या छन् भने हामीलाई जानकारी गराउनुहोस् । हामी हरतरहले सहयोग गर्न तयार छौं ।’– अधिकारीले भने । यद्यपी कार्यक्रममा सूचिकृत नहुने रोजगारदातालाई श्रमिकले उजुरी दिएको खण्डमा कारवाही सजायको व्यवस्था रहेको उनले बताए । २०७५ मंसिर ११ गतेबाट शुभारम्भ भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म ८ सय ४० वटा रोजगारदाता सूचिकृत भएका छन् ।


रोजगारदाता अनलाईनको माध्यमबाट सूतिकृत हुन सक्ने छन् । रोजगारदाता सूचिकृत भएको तीन महिनापछि रोजगारदाताकै प्रमाणपत्रका आधारमा श्रमिक कार्यक्रममा सहभागि हुन पाउने कोषका कार्यकारी निर्देशक अधिकारीले बताए । बिहिवार नेपालगन्जमा भएको छलफलमा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायत रोजगारदाता उद्योगीहरु प्रदिप छाजेड, पानस फर्मास्युटिक्सका प्रमुम माधव अधिकारी,  श्रमिकहरुको सहभागिता थियो । बाँके जिल्लामा माघ १ गतेबाट रोजगारदाता सूचिकृतका लागि खुल्ला गरिएको छ ।

प्रकाशित मितिः     २४ माघ २०७५, बिहीबार १५:४७  |