गीतबाटै सोधिन्थ्यो हाट आउँदा नेपालगन्जको दरभाउ


विकासक्रमले आज हाट र हटारुका कुरा एकादेशको कथा जस्तो लागे पनि कुनैबेला हटारुका लागि सामान्य जस्तै थियो । बोलीचालीको अर्थमा हाट बजार गर्ने व्यक्ति नै हटारु हो । हाट बजार गर्ने स्थान हाट हो । व्यक्ति र हाटको चिनारी नेपालगन्ज बजार हो । लोकवार्ताकार मनोहर लामिछानेका अनुसार जहाँ आफ्नो उत्पादन बिक्री गर्ने आफुलाई आवश्यक पर्ने विविध सामाग्रीहरु खरिद गर्ने भनि बिशेषत पहाडी भुभागबाट आएका ग्रामिण व्यक्तिलाई हटारु भनेर सम्बोधन गरिन्थ्यो । हाट र हटारुले नै नेपालगन्जका पहाडी जिल्लाबीचको उहिल्यैदेखि व्यापारिक सम्बन्ध जोडेको  पाईन्छ । लोकवार्ताकारण लामिछानेले यस सम्बन्धमा आठौं राष्ट्रिय पुस्तक प्रदर्शनीको स्मारिकामा बिस्तृत लेखेका छन् । घरबाट हाट कसरी सुरु गरिन्थ्यो भन्ने बिषयमा उनी लेख्छन् ्,–‘हाट गर्दा ज्योतिषी, धामीबाट साहित गर्ने दिनबार हेराई गाउँभरीका प्राय जसो प्रत्येक घरपरिवारका सदस्यहरु २०/३० जना देखि ५०/ ६० जना सम्म साथै हाटको लागी प्रस्थान गर्दथे ।’

पहिलो दिनमा गाउँ नजिकैको स्थानमा पाइला सोर बास बसिन्थ्यो । त्यहाँसम्म डोको बोकेर पठाउन पनि आउने चलन थियो । हाटबाट फर्किदा समेत त्यहीबाट नुहाईधुवाई गरेर आउने चलन थियो । जादा आउदा पुग्ने चामल, पिठो, तरकारी, नुन, तेल र बजारमा बिक्री गर्ने आफ्नो उत्पादन डोकोमा राखिन्थ्यो ।  ‘डोकाहरु बिभिन्न प्रकारका हुन्थे । जस्तो पानी बोक्ने डोकोलाई पान्या डोको, मल बोक्नेलाई मल्या, स्याउला सोतर बोक्नेलाई राँक्या, हाट बजार गर्ने डोकोलाई हाट्या डोको भनिन्थ्यो ।’ लामिछाने थप्छन्,‘हाट्या डोेको बिशेषता भनेको हाट जाँदा आफुलाई चाहिने खाद्यन बिक्री गर्ने जनिस, फर्कदा नुन, तेल लगायतका सामाग्री ल्याउँदा राख्नुपर्ने भएकाले हाट्या डोको बलियो र बिशेष प्रकारको हुन्थ्यो । डोको माथिल्लो भागमा भाँगो, भिमल, मसिना कलालक डोरीहरु रहेका हुन्थे । त्यसलाई कसन डोरी भनिन्थ्यो । भारीको सन्तुलन मिलाउन हातसम्म पुग्ने फुर्को सहितको हाट्या डोरी पनि हुन्थ्यो ।’

लोकवार्ताकार मनोहर लामिछाने

डोकाहरु हाट आउने हटारुहरुको स्थान बिशेषले पनि फरक पाथ्र्यो । ठाउँ अनुसारको डोको हुने गरेका थिए । जस्तै दैलेखकी डोका, रुक्मेली डोका, सल्यानी डोका, जाजरकोटी डोका ईत्यादी । लोकवार्ताकार लामिछानेले उक्त लेखमा हटारुहरुले नेपालगन्जमा पाईने सामाग्रीहरुको दरभाउ कसरी सोध्ने गरेका थिए भन्ने कुरा पनि रोचक तरिकाले प्रस्तुत गरेका छन् । उनी लेख्छन्,–‘गाउन आउने हटारुको बाटामा भेट हुँदा नेपालगन्ज बजारको दर भाउको बारेमा जिज्ञासा राख्ने गरिन्थ्यो । नुन, घिउको भाउ सोधिन्थ्यो । फर्कने हटारुहरुलाई उम्या र नेपालगन्ज जानेलाई उघ्या भन्ने गरिन्थ्यो । दर भाउ सोध्ने बारेमा लोक श्रष्टाहरु यसरी गीत गाउँथे ।’

मटेलमा पुल बानी, कुईयापानी नाव,
नेपालगञ्जी बजारैमा, क्या छ दर भाव ।

बाटोमा हिड्दै लखतरान परेका हटारुका लागि बिश्राम गर्ने स्थान बिसाउनीहरु बनाईएको हुन्थ्यो । सो सम्बन्धमा पनि गाउनेहरु यसरी गीत गाउथे भन्दै लामिछानेले यस्तो लेखेका छन्,

हटारी बिसाउना बस्या, कुमाखै नाग्ना ।
म आइग्या हजारी फुल, पिमैको कर माग्या ।


बाटोमा पकाउने खाना छिटोछरितो युक्त हुने गथ्र्यो । गुन्द्रुक, पिना, फाँडो तरकारीका रुपमा प्रयोग हुन्थ्यो । यस प्रसंगमा सिर्जना गरिएका गीतका बिषयमा लामिछानेले आफ्नो लेखमा लेखेका छन्,

हेर्छु माया कति लाग्छ, यइवाला साईकन
हटारु उकाला लाग्या, फाँडो भात खाईकन ।

वर्ष दिन भरिमा आफ्ना उत्पादन बिक्री गर्न र आफुलाई चाहिने लत्ताकपडा, नुन, तेल, कृषि सामाग्री लिन आउने व्यक्तिलाई नेपालगन्जमा पुगे भने एवे हटारु भनेर बोलाइन्थ्यो । नेपालगन्ज पुगेका हटारुहरु सल्यानी बंगला, दैलेखी बंगला, गणेशपुर तिरका बगियाहरुमा बास बस्ने गर्दथे । क्षेत्र, स्थान अनुसारका आआफ्नै बनियाहरु प्राथमिकतामा पर्थे । कपडा बेच्नेलार्य कपड्या, तामो बेच्नेलाई ताम्या, फलाम बेच्नेलाई फलाम्मे, घिउ किन्नेलाई घिया, नुन बेच्नेलाई नुन्या भन्ने गर्दथे हटारुहरु । घिउको मुल्य कम हुँदा लोकगितबाटै यसरी ब्यंग्य गर्दथे ।

महाजन सौ कति भयो, पाहाली घिउले
साइलो आउनु भेट गरौला, ब्यापारी निवले ।

गाउँघरमा उत्पादन भई बिक्री गर्ने उदेश्यले नेपालगन्ज बजार अर्थात हाटमा ल्याईएको बस्तु नै जनिस हो । जस्ता जनिसहरुमा प्रमुख घिउ, सुटो, अदुवा, टिम्मुर, लटे, रिठा जस्ता बिभिन्न प्रकारका जडिबुटी पर्थे । महाजनहरु जनिस के ल्याएका छौ भनेर सोध्ने गरेका थिए ।

प्रकाशित मितिः     २६ माघ २०७५, शनिबार १७:२५  |
error: Content is protected !!