होटलमा काठमाडौं र पोखरालाई पछ्याउँदै नेपालगन्ज


  • हिमा बिक

काठमाण्डौं : तीन वर्षभित्र देशका आठ मुख्य शहरमा पर्यटक स्तरका ४९३ नयाँ होटल तथा लज थपिएका छन् । बेड (शय्या) संख्या १० हजार ६४१ वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन–वार्षिक प्रतिवेदन २०७४/७५’ अनुसार उक्त होटलहरू काठमाडौं लगायत पोखरा, सिद्धार्थनगर (भैरहवा), विराटनगर, जनकपुर, नेपालगन्ज, वीरगन्ज र धनगढीमा खुलेका हुन् । आव २०७२/७३ मा यी ठाउँमा २ हजार ३६७ होटल रहेकोमा अब यो संख्या २ हजार ८६० पुगेको छ । यो १२ प्रतिशत वृद्धि हो ।

यस अवधिमा पोखरामा ८२ र काठमाडौंमा ६८ पर्यटक स्तरीय होटल र लज थपिए । यी ठाउँमा तिनको संख्या अब क्रमशः ९१० र ७८२ पुगेको छ । यस्ता होटल सबैभन्दा बढी पोखरामा (३१ दशमलव ८ प्रतिशत) र सबैभन्दा कम धनगढीमा (१ दशमलव ४ प्रतिशत) रहेका छन् ।

पोखरा र काठमाडौंपछि पर्यटकीय स्तरका होटल तथा लज खोल्ने क्रम वीरगन्ज र नेपालगन्जमा बढेको छ । विगत ३ वर्षमा वीरगन्जमा ११६ र नेपालगन्जमा १३७ नयाँ होटल खुलेका छन् । अब यी ठाउँमा होटल तथा लजको संख्या क्रमशः ५२६ र २८५ पुगेको छ । सिद्धार्थनगर, धनगढी, जनकपुर र विराटनगरमा भने यस्ता होटल खासै थपिएनन् ।

पर्यटक स्तरीय होटल : ३ वर्षमा ५ सय थप

होटल तथा लजसँगै पर्यटक स्तरका शय्याको संख्या पनि ६५ हजार १५१ बाट बढेर ७५ हजार ७९२ पुगेको छ । यो ८ दशमलव ७ प्रतिशत वृद्धि होे । केन्द्रीय बैंकले पर्यटकीय क्षेत्रका रूपमा स्थापित चितवनलाई वीरगन्ज क्षेत्रमै समावेश गरेर अध्ययन गरेको थियो ।

वीरगञ्ज क्षेत्रमा चितवनसहित बारा, पर्सा, मकवानपुर, रौतहत जिल्ला छन् । यस्तै नेपालगन्जमा बाँके, बर्दिया, दाङ, सुर्खेत, सल्यान र जुम्ला जिल्ला छन् ।   आर्थिक अभियान दैनिकबाट

प्रकाशित मितिः     २८ माघ २०७५, सोमबार १८:२३  |