विकासमा बाँके क्षेत्र नम्बर २ अब्बल बन्छ-मन्त्री राई


नेपालगञ्ज, २८ माघ । शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले बाँके निर्वाचन क्षेत्र नम्बर २ लाई देशकै नमूना निर्वाचन क्षेत्र बनाइने बताएका छन् । उनले भने–विकास बजेट विनियोजनको मामिलामा बाँके निर्वाचन क्षेत्र नम्बर २ देशकै सबैभन्दा बढी प्राथमिकताको निर्वाचन क्षेत्रमा परेको छ । यसलाई नमूना क्षेत्र बनाइने छ ।
शहरी विकास मन्त्रालयद्धारा नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १४ मा ४५ करोडको लागतमा निर्माण गर्न लागिएको नेपालगञ्ज सभागृहको सोमवार यहाँ सिलन्यास गर्दै मन्त्री राईले बाँके निर्वाचन क्षेत्र नम्बर २ मा सात अर्ब भन्दा बढीका विकास योजनाहरु ल्याउन सफल भएको बताउँदै यो क्षेत्रलाई विकास नमूना क्षेत्र बनाइने प्रतिवद्धता दोहोरयाए । उनले सो अवसरमा बाँकेको विकास हेर्न देशभरीबाट सर्वसाधारण आउने दावी समेत गरे ।
आफ्नो जिल्ला, नगर र गाउँको विकासका लागि सबै दल र स्थानीय बासिन्दा एकजुट हुनैपर्ने उनको भनाई थियो । ‘भोली निर्वाचनको बेलामा सबै आ आफ्नो एजेण्डामा लागेपनि अहिले सबैले मिलेर विकासको एक मात्र एजेण्डामा लाग्नु पर्छ’उनले भने । नेपालगञ्ज उपमहानगरलाई पनि देशकै नमूना नगर बनाउने लक्ष्यका साथ उपमहानगरपालिका र शहरी विकास मन्त्रालयले मिलेर काम गरिरहेको जनाउँदै उनले सो काममा नेपालगञ्जका मेयर डा. धवल शमशेर राणाको राम्रो सहयोग रहेको बताए । बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत नेपालगञ्ज र डुडुवामा अहिले करिब ४५ किलो मिटर सडक कालोपत्रे गर्ने कार्यलाई बिशेष प्राथमिकतामा राखिएको उनले बताए ।
नेपालगञ्जमा अत्याधुनिक सभागृहको लामो समयदेखि निकै अभाव रहेको उल्लेख गर्दै मन्त्री राईले यो सभागृहलाई निर्धारित समयमै पुरा गर्न निर्माण व्यवसायीसंग आग्रह गरे ।
सो अवसरमा प्रदेशसभाका सांसद विजय बहादुर यादवले बाँके क्षेत्र नम्बर २ का लागि सात अर्ब भन्दा बढीका विकास योजना ल्याउन सफल भएकोमा मन्त्रीलाई धन्यवाद दिए । सो अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणाले नेपालगञ्जको विकास तिव्र गतिमा भैरहेको बताए । उनले नगरको विकासका लागि सबैसंग सहकार्य गरिरहेको जनाए ।
मन्त्री राईले सोमवारनै वाटरपार्क नजिक चिल्ड्रेन पार्क र पिकनिक स्पट र बाइपास सडकको पनि सिलन्यास गरेका छन् । यी कार्यक्रममा पनि उनले बाँकेको विकासलाई तिव्र रुपमा अगाडी बढाउने बताएका थिए ।

प्रकाशित मितिः     २८ माघ २०७५, सोमबार १४:५९  |