मन्त्री बास्कोटाले भने,–‘नेपालगन्जबाट ढिलो चाँडो अन्र्तराष्ट्रिय उडान हुन्छ ’


नेपालगन्ज :  संघीय सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले ढिलो चाँडो राँझा बिमानस्थलले अन्र्तराष्ट्रिय उडानको अनुमति पाउने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर बाँकेले मंगलबार साँझ नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सञ्चारमन्त्री बास्कोटाले राँझा बिमानस्थल विकासमा केन्द्र सरकारको चासो रहेको जनाए ।

‘नेपालगन्ज यसक्षेत्रको गेट वे हो । यहाँको बिमानस्थलबाट हवाई उडान हुन्छ नै । त्यसका लागि केही समय पर्खिनुपर्छ ।’ मन्त्री बास्कोटाले भने–‘ आज नभए भोली यहाँको बिमानस्थलले अन्र्तराष्ट्रिय उडान अनुमति पाउँछ ।’ मन्त्री बास्कोटाले यहाँका केही सरकारी कार्यालय अन्यत्र सर्दैमा नेपालगन्ज पछि नपर्ने दाबी समेत गरे ।

नेपालगन्जमा यहाँको बिमानस्थलबाट दिल्ली सिधा हवाई उडान गर्न माग भइरहेको छ । बुद्ध एयरले नेपालगन्ज दिल्ली उडानको घोषणा समेत गरिसकेको छ । तर भारतबाट रुटपरिमिट नपाउँदा उडानको बिषय ओझेलमा परेको छ । सञ्चारमन्त्री बास्कोटाले संक्रमणकालको अन्त्यसंगै देशले हरेक दिन कुनै न कुनै नयाँ काम गरिरहेको बताए । तर काम गर्दा समेत त्यसलाई नदेखा गरेर बिश्लेषण गर्ने काम भइरहेको र त्यसप्रति सचेत रहन मन्त्री बास्कोटाले आग्रह गरे ।

प्रकाशित मितिः     २९ माघ २०७५, मंगलवार २०:३४  |