प्रदेश नं. ५ मा प्रदेश बिश्वबिद्यालय स्थापना गरिने, सम्भाव्यता अध्ययन गरिदै (हेर्नुहोस् बिस्तृत सूचना)


बाँके : प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले प्रदेश बिश्वबिद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गरेको छ । फागुण १ गते प्रथम पटक सूचना प्रकाशित गरी मन्त्रालयले ईच्छुक फर्म, व्यक्ति तथा संस्थाबाट आशयपत्र माग गरेको हो ।

आर्थिक वर्ष २०७५,२०७६ को वार्षिक कार्यक्रम तथा बजेट अनुसार प्रदेश बिश्वबिद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । सम्भाव्यता अध्ययन गर्न चाहाने व्यक्ति फर्म तथा संस्थाको न्यूनतम योग्यता, क्षमता तोकिएको छ भने उनीहरुले गर्नुपर्ने कामको मापदण्ड कायम गरिएको छ ।

मन्त्रालयका अनुसार इच्छुक फर्म, व्यक्ति वा संस्थाले प्रदेश बिश्वबिद्यालयको दृष्टिकोण,कार्यक्रम, शिक्षण बिधि र सिकाई प्रक्रिया,अनुसन्धान कार्यक्रम, बिश्वबिद्यालयको संगठनात्मक संरचना, शासकिय स्वरुप,वर्गिकरणको छनौट तथा बढुवा लगायतका बिषयको गहन अध्ययन सहितको प्रतिबेदन पेश गर्नुपर्नेछ ।

यस्तै संघीय सरकार मातहत रहेका बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक तथा आंगिक क्याम्पसलाई प्रदेश बिश्वबिद्यालय मातहत ल्याउन अपनाउनुपर्ने प्रक्रिया लगायत अन्य बिश्वबिद्यालयसंगको सम्बन्ध, बिश्वबिद्यालय अस्थापना र सन्चालनका लागि पाँच वर्षे संक्षिप्त योेजना तयार गर्नुपर्नेछ ।

 

प्रकाशित मितिः     ५ फाल्गुन २०७५, आईतवार ११:१८  |