नेपालगन्ज : बाँके जिल्लाका सरकारी÷सामुदायिक अस्पताल र त्यहाँ कार्यरत चिकित्सक भन्दा छ गुणा बढि नीजि अस्पताल सन्चालित छन् । चिकित्सकको संख्या पनि सरकारी भन्दा नीजिमा छ गुणा नै बढि पाईएको छ ।
नेपाल राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा बाँकेमा सरकारी तथा सामुदायिक अस्पतालको संख्या तीनवटा थियो । त्यहाँ ४० जना चिकित्सक कार्यरत थिए भने शैंयाको संख्या २ सय ४० रहेको थियो ।
सोही वर्षको तथ्यांक अनुसार नीजि अस्पताल र त्यहाँ कार्यरत चिकित्सक सरकारी भन्दा छ गुणाले बढि भेटिए । आर्थिक वर्ष २०७४/२०७५ सम्म बाँकेमा १८ वटा अस्पताल रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । ती १८ वटा अस्पतालमा २ सय २५ जना चिकित्सक कार्यरत थिए भने अस्पताल शैंयाको संख्या १२ सय ७० रहेको छ ।
राष्ट्र बैंकले आर्थिक गतिबिधि तथा विशेष अध्ययन मार्गदर्शन २०७० अनुसार गत आर्थिक वर्षको आर्थिक गतिबिधि समेटेर हालै मात्र प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिबेदनमा सेवा क्षेत्र शिर्षकमा स्वास्थ्यलाई पनि समेटिएको छ ।
प्रतिबेदनमा देशभर सरकारी तथा निजी गरी कुल ६ सय ३० अस्पताल रहेको उल्लेख गरिएको छ भने जसमा १ सय ७२ वटा अस्पताल सरकारी क्षेत्रबाट एवम्४ सय ५८ वटा निजी क्षेत्रबाट संचालित छन्। सरकारी क्षेत्रबाट संचालित अस्पतालमा कुल १४ हजार ३ सय ९१ शैया छन् भने २ हजार ३ सय ७२ चिकित्सकहरुले सेवा प्रदान गरिरहेका छन्। निजी क्षेत्रबाट संचालित अस्पतालहरुमा भने कुल २० हजार ५ सय ३ शैया छन्भने ३ हजार ५ सय ७३ चिकित्सकहरुले सेवा प्रदान गरिरहेका छन्।