नेपालगन्ज : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादबले उद्योगहरुको नविकरण प्रक्रिया छिट्टै शुरु हुने बताएका छन् । दुई वर्षे म्याद गुज्रिएका उद्योगहरुको नवीकरण भएको छैन ।
नविकरण गर्न नपाएपछि उद्योगी व्यवसायीहरु मर्कामा परेका छन् । राज्यलाई ठुलो राजश्व घाटा परिरहेको र अर्को तिर उद्योगी व्यवसायीलाई काम कारोवार गर्न समस्या भइरहेको बिषयमा आफु जानकार रहेको मन्त्री यादवले बताए । कार्यक्रमको सिलसिलामा रुकुम जान नेपालगन्ज आएका बेला मन्त्री यादवले उद्योग नविकरणका बिषयमा यस्तो प्रतिक्रिया दिएका हुन ।
उद्योगी व्यवसायीहरूबाट यस्का बारेमा थुप्रै गुनासो आफू कहाँ आएको स्मरण गर्दै समस्याको समाधान गर्नका लागि प्रक्रिया अगाडि बढाईसकिएको भन्दै उनले भने -’केही नेपाल ऐन संशोधन गर्ने बिधेयक मार्फत अब केही दिनमा नै संशोधन बिधेयक संसदमा पेश गरेर संसदबाट पास भै सकेपछि यो समस्याको समाधान गर्नेछौं ।’
संसदबाट पास गरि राष्ट्रपतिबाट प्रमाणीकरण भै सकेपछी उद्योगी व्यवसायीले आफ्नो उद्योग व्यवसाय नवीकरण गर्न तीन महिनाको समय पाउनेछन । ’तीन महिना भित्र सम्बन्धित कार्यालयमा नवीकरणका लागि निवेदन दिनुपर्नेछ, आवश्यक जरिवाना सहित सम्बन्धित कार्यालयले नविकरण गर्छ ।’ मन्त्री यादवले भने ।
वाणिज्य कार्यालय नेपालगन्जका अनुसार करिव २ सयको हाराहारीमा त्यस्ता ब्यवसायको नविकरण म्याद गुज्रेको छ भने घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका अनुसार नविकरण हुन छुटेका यस्ता उद्योगहरु करिव एक सयको हाराहारीमा रहेका छन ।