बाँके राष्ट्रिय निकुञ्जबाट हात्ती भाडामा दिन पूर्णरुपमा रोक


बाँके : सरकारले मेला, महोत्सव जस्ता पर्वलाई हात्तीको भाडामा प्रयोग गर्न रोक लगाएको छ । नयाँ निर्देशन अनुसार गत असोज महिनाबाट निकुञ्ज बाहिर हात्तीको प्रयोगमा पूर्णरुपमा रोक लगाईको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी बिष्णु थपलियाले जानकारी दिए ।

‘नयाँ निर्देशन प्राप्त भएपछि हामीले कहि कतै हात्ती पठाएका छैनौ ।’ थपलियाले भने–‘अब हात्ती निकुन्ज र संरक्षण क्षेत्रको काममा प्रयोग हुन्छ ।’ सरकारले हालै मात्र हात्ती व्यवस्थापन सम्बन्धी ऐन संशोधन गरेपछि हात्तीको अन्यत्र प्रयोगमा रोक लगाईएको हो । असोज अघिसम्म निकुञ्जले शुल्क लिएर हात्तीलाई मेला, महोत्सव, महायज्ञमा भाडामा दिने गरेको थियो । नेपालीले हात्ती प्रयोग गर्दा ६ घण्टाको रु ५ हजार, सार्क देशका नागरिकले रु १० हजार र तेस्रो मुलुकका नागरिकले प्रयोग गर्दा रु २० हजार शुल्क लिने गरिएको थियो । अब शुल्क लिएर पनि हात्ती भाडामा नलगाईने भएको हो । बाँके राष्ट्रिय निकुञ्जमा चारवटा हात्ती रहेका छन् ।

वन्यजन्तुको अधिकार र हात्तीको प्रयोगबाट हुने असुरक्षालाई देखेर पनि सम्भवत सरकारले हात्ती व्यवस्थापन सम्बन्धी नयाँ नियम ल्याएको छ । यो नियम पछि मेला, महोत्सव र महायज्ञमामा हात्ती लैजान चाहाने आयोजक जिल्ल पर्ने अवस्था आएको छ । अहिले पनि बिभिन्न कार्यक्रमका आयोजकहरु हात्ती माग गर्दै निकुञ्ज आउने गरेको सूचना अधिकारी थपलियाले जानकारी दिए ।

प्रकाशित मितिः     ७ फाल्गुन २०७५, मंगलवार १६:२८  |