नेपालमा पाइने सस्ता कार


वर्षामा हिलो र घाम लाग्दा धूलो हुने भएका कारण धेरैले कार चढ्ने शोख पाल्छन् । कतिपयले आफ्नो शोख पूरा गर्न सक्छन् भने कतिले सक्दैनन् । स्थायी किसिमको जागीर हुनेले र निरन्तर आम्दानी हुनेले कार चढ्नै नसक्ने भन्ने हुँदैन । मोटरसाइकल हुनेहरूको चाहना बाइक छाडेर कार चढ्ने हुन्छ । मध्यम आय भएकालाई लक्षित गरी कार निर्माता कम्पनीहरूले सस्तो कार निर्माणमा ध्यान दिन थालेका छन् । वास्तवमा १५ लाखदेखि २० लाख रुपैयाँसम्ममा कार चढ्न सकिन्छ । बैंक तथा वित्तीय संस्थाहरूले दिने सहज ऋणका कारण पनि कार किन्न सहज भएको छ । ३५ प्रतिशत डाउन पेमेन्टमा ६ लाख रुपैयाँ तिर्दा कार लान सकिन्छ । नेपालमा सानो, सस्तो र धेरै माइलेज दिने कारको माग बढ्दो क्रममा छ । यही मागका कारण सडकमा विभिन्न कम्पनीका इन्ट्री लेभलका कारको संख्या दिन प्रतिदिन बढिरहेको छ । गाडी उत्पादक कम्पनीहरूले मध्यमवर्गलाई लक्षित गरेर इन्ट्री लेभलकै कारमा सुविधा थप्न लागेका छन् । त्यस्तै, डिजाइन, इञ्जिन, माइलेज र ग्राउण्ड क्लियरेन्समा पनि ध्यान दिन थालेका छन् ।

रेनो क्विड

‘रेनो क्विड’ इन्ट्री लेभलको ८ सय र १ हजार सीसीमा उपलब्ध ह्याचब्याक कार हो । रेनोले इन्ट्री लेभल गाडी क्विडको ड्राइभर सिटमा एयरब्याग र एयर कन्डिसन जडान गरेको छ । रेनो क्विड २० लाख रुपैयाँदेखि खरीद गर्न सकिन्छ । फ्रान्सेली कार निर्माता कम्पनी रेनोको नेपालका लागि आधिकारिक विक्रेता एड्भान्स अटोमोबोइलले यो कारलाई बजारमा ल्याएको हो । ०.८ लिटर इन्जिन क्षमताका साथै इन्ट्री लेभल ह्याचब्याक सेग्मेन्टमा निर्माण भएको यो कारमा प्रशस्त स्पेश छ । ०.८ लिटर इन्जिनमा उपलब्ध क्विड ३ अप्सनमा उपलब्ध छ ।

डाटसन रेडिगो

डाटसन रेडिगो करीब १५ लाख रुपैयाँमा खरीद गर्न सकिन्छ । १ हजार सीसीको रेडिगो करीब २० लाख रुपैयाँमा पाइन्छ । रेडिगोको टप भेरियन्ट पनि २० लाख रुपैयाँमा नै खरीद गर्न सकिन्छ । जापानी कार निर्माता कम्पनी डाटसनको कारमा ५४ भीएचपी क्षमता भएको ०.८ लिटरको इन्जिन जडान गरिएको छ । यो इञ्जिनले प्रतिलिटर २५.१७ किलोमिटर पार गर्ने क्षमता प्रदान गर्छ । नेपाली बजारमा रेडिगो विभिन्न सात अप्सनमा उपलब्ध छ । डाटसन कार नेपाली बजारमा पायोनियर मोटो कर्पले विक्री गर्दै आएको छ ।

मारुती सुजुकी अल्टो

इन्ट्री लेभलको अर्को गाडी अल्टो हो । नेपालमा ट्याक्सीसहित सबैभन्दा धेरै विक्री हुने सवारीमा मारुती अल्टो ८०० पर्छ । चौधरी समूहअन्तर्गत अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले नेपाली बजारमा ल्याएको मारुती अल्टो ८०० को बजार मूल्य १६ लाख रुपैयाँ रहेको छ । अल्टो ८०० नेपाली बजारमा विभिन्न तीन मोडलमा उपलब्ध छ । भारतमा लोकप्रिय कारको रूपमा रहेको यसले सबैभन्दा बढी माइलेज प्रदान गर्छ । यसमा ७९६ सीसी इञ्जिन क्षमताको मोटर लगाइएको छ, जसले ४८ एचपी पावर दिने गर्छ । यो गाडी ६ ओटा कलरमा उपलब्ध छ । १ सय ६५ मिलिमटिरको ग्राउण्ड क्लियरेन्स रहेको कारमा ३५ लिटरको पेट्रोल ट्यांकी छ ।

हुन्डाई इओन

इओन हुन्डाईको इन्ट्री लेभलको कार हो । सस्तो मूल्यमा आकर्षक डिजाइजसहित विभिन्न विशेषताले भरिपूर्ण भएकाले यो कारलाई धेरैले रुचाएका छन् । चार कलर र दुई भेरियन्टमा इओन उपलब्ध छ । ८ सय १४ सीसी क्षमता रहेको इओन गाडीे १६ लाखदेखि १८ लाख रुपैयाँमै पाउन सकिन्छ । कोरियाली कार निर्माता कम्पनी हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल हो । ८ सय १४ सीसी इन्जिन क्षमतामा यो कार तीन मोडलमा नेपाली बजारमा उपलब्ध छ । आर्थिक अभियानबाट साभार

प्रकाशित मितिः     ७ फाल्गुन २०७५, मंगलवार १९:३८  |