नेपालगन्ज : मकै जोन कार्यक्रम सन्चालन भएपछि बाँकेमा मकै उत्पादनको क्षेत्र दोब्बरले बढेको छ । ३ वर्षदेखि सञ्चालित प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकैको उत्पादन बढेको छ भने किसान पनि मकै खेतीतिर आकर्षित भएका छन् ।
कार्यक्रम सन्चालन हुनु अघि ३ सय ५० हेक्टरमा मकै खेती हुँदै आएकोमा अहिले दोब्बरले बढेर ६ सय २१ हेक्टरमा मकै खेती भइरहेको छ । शुरुआतमा १० समूह र सहकारीमा आबद्ध किसानले ३५० हेक्टरमा मकै खेती गरेका थिए । अहिले ३५ कृषक समूह मकै खेतीतिर लागेका छन् । परियोजनाले कृषकलाई आधुनिक उपकरणसहित प्राविधिक सहयोग गर्दै आएको छ ।
परम्परागत भन्दा परियोजनाको मकै खेतीबाट उत्पादन राम्रो भएकाले कृषक आकर्षित भएको छ । मकै जोन परियोजनाले नेपालगञ्ज उपमहानगरपालिकाको पाँच वडा तथा डुडुवा गाउँपालिकाको बेतहनी, वनकट्टी र हिरमिनिया गाउँलाई समेटको छ ।
परियोजनाले कृषकहरूले हिउँदे र वसन्ते मकै खेती गर्दै आएकामा आगामी आर्थिक वर्षदेखि बर्खे खेतीका लागि ४० कृषक समूह छनोट गरिएको छ । कार्यक्रमले कृषकलाई किटनाशक औषधी बीउबिजन र कृषि उपकरणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोग र मकै खेतीसम्बन्धी तालीम पनि दिँदै आएको छ ।