नेपालगन्जले आधार सहित प्रदेश राजधानीको जोडदार माग गर्दै, अरु विकल्प नखोज्ने


बाँके : प्रदेश ५ को स्थायी राजधानी तोक्ने प्रयोजनका लागि गठन भएको संसदिय समिति सामू नेपालगन्जले राजधानीको दाबी प्रस्तुत गर्ने भएको छ । नेपालगन्ज राजधानी बन्ने आधार समेत प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

प्रदेश ५ मा स्थायी राजधानी तोक्ने प्रयोजनका लागि गठन भएको संसदिय समिति छलफलका लागि नेपालगन्ज आउनु अघि शुक्रबार विकासका लागि नागरिक समिति बाँकेले छलफल चलाएको थियो । छलफलमा सहभागि यहाँका बिभिन्न क्षेत्रका बिज्ञ, राजनीतिकर्मी, उद्योगी, व्यवसायी, पत्रकार, नागरिक समाजका प्रभुत्व व्यक्तित्व सहभागि थिए । छलफलले नेपालगन्जलाई राजधानी बनाउन हरप्रकारले उपयुक्त भएको निष्कर्ष निकालेको विकासका लागि नागरिक समाज बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

नेपालगन्जले अन्य बिकल्पका बारे अहिले कुनै छलफल नगर्ने भएको छ । नेपालगन्ज राजधानीका लागि अनुपयुक्त भए यहाँ आन्दोलन हुनसक्ने पूर्व चेतावनी समेत छलफलमा दिइएको थियो ।

‘छलफलबाट निस्किएको निष्कर्ष एउटै स्वरमा प्रदेश संसदिय समितिमा राख्दै छौं ।’ अध्यक्ष श्रेष्ठले भने–‘हर प्रकारले नेपालगन्ज राजधानीका लागि उपयुक्त छ भन्ने सन्देश दिदै छौं ।’ संसदिय समितिले आईतबार नेपालगन्जमा राजधानी र प्रदेशको नामाकरणका लागि छलफल गर्दै
छ । छलफलपछि नाम र प्रदेश राजधानी सोही समितिले सिफारिस गर्नेछ ।

 

उक्त छलफल अघि नेपालगन्जको एउटै ‘मुड’ बनाउने काम भएको शुक्रबार भएको छलफलमा सहजिकरण गरेका नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य झलक गैरेले जानकारी दिएका छन् । एकमत भएर नेपालगन्जले प्रदेशको स्थायी राजधानी दाबी गर्ने तयारी गरेको उनले बताए ।

प्रकाशित मितिः     १० फाल्गुन २०७५, शुक्रबार १९:१३  |