‘घर अन्त हाल्न सक्नुहुन्छ । अरु ठाउँमा बस्न पनि सक्नुहुन्छ । तर आफ्नो ठाउँ बिर्सिदिने । कम्तिमा ऐन मौकामा नेपालगन्जको हुँ भनिदिनुहोस् । विकासका लागि पैरवी गरिदिनुहोस् । ’
नेपालगन्ज : प्रदेश ५ को स्थायी राजधानी र नामाकरण प्रयोजनका लागि बनेको संसदिय समिति आईतबार नेपालगन्ज आउँदैछ । राजधानी र नामाकरण सिफारिस गर्ने अधिकार पाएको उक्त समिति समक्ष नेपालगन्जका बिषयमा एउटै मत बनाउन शुक्रबार बृहद छलफलको आयोजना गरियो । कृष्ण प्रसाद श्रेष्ठ अध्यक्ष रहेको विकासका लागि नागरिक सरोकार मन्चले उपलब्ध गराएको उक्त फोरमको मुख्य उदेश्य प्रदेशको राजधानी र नामाकरणको बारेमा नेपालगन्जको मुड जान्नु नै थियो ।
हरेक क्षेत्रका अगुवाले उपस्थित उक्त छलफलमा सबैले आआफ्ना बिचार राखे । लामो छलफलपछि संसदिय समिति समक्ष नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन जोडदार माग गर्ने र त्यसका लागि आधारहरु प्रस्तुत गर्ने निष्कर्ष निकालिएको छ । छलफलमा नेपालगन्जको बिगत, बर्तमान र भविष्यका बिषयमा खुलेर कुराकानी भए । प्रदेशकै राजधानी र नामाकरणका बिषयमा भिन्न बिचार नआएका होइनन् । तर सबैले नेपालगन्जलाई केन्द्रमा राखेर बिकल्पका बारे मन्थन गरे ।
यिनै बिचार राख्ने मध्ये एक थिए, राजनीतिक बिश्लेषक डा जनार्दन आचार्य । जसले उक्त छलफलमा प्रदेश राजधानी र नामाकरणका बिषयमा नेपालगन्ज किन उपयुक्त छ भन्ने बारे मात्र बोलेनन् नेपालगन्जप्रति ‘माया गर्ने’ कै खडेरी पर्न थालेको भन्दै चिन्ता प्रकट पनि गरे । प्रदेश राजधानीका बिषयमा उनले भने,–‘हरेक दृष्टिकोणले नेपालगन्ज राजधानी बन्न उपयुक्त छ । नबन्ने के कारण छ ? बरु कसैले भने हुन्थ्यो ।’
राजधानीको प्रसंगसंगै समग्र नेपालगन्जको विकास नहुनु मध्येका कारण मार्मिक रुपमा राख्दै डा आचार्यले थपे,–‘अन्त घर हाल्ने बित्तिकै नेपालगन्जको हुँ भन्नै छाड्ने प्रबृत्ति देख्छु । अनि कसरी यो शहरको विकास हुन्छ ?’ जन्मे, हुर्केको, कर्मथलो बनाएको जे होस् त्यो ठाउँलाई बिर्सिदै जाने हो भने कहिल्यै विकास हुन नसक्ने डा आचार्यको बुझाई छ । ‘घर अन्त हाल्न सक्नुहुन्छ । अरु ठाउँमा बस्न पनि सक्नुहुन्छ । तर आफ्नो ठाउँ बिर्सिदिने । कम्तिमा ऐन मौकामा नेपालगन्जको हुँ भनिदिनुहोस् । विकासका लागि पैरवी गरिदिनुहोस् । ’– आचार्यले भने । नेपालगन्जको विकासका लागि सामुहिक भावना आवश्यकता रहेको उनले बताए ।