नेपाल सरकारले प्रदेश नं. ५ को कार्य सञ्चालनको लागि अस्थाई राजधानी (मुकाम) बाँकेलाई नतोकी रुपन्देहीलाई तोक्ने गरी नेपाल सरकारले गरेको निर्णयको विरोध गर्दै प्रदेश नं. ५ को राजधानी बाँकेलाई तोकिनु पर्दछ भनी यस जिल्लाका राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी लगायतको सहभागितामा निर्माण भएको बाँके राजधानी संघर्ष समितिले पटक—पटक ध्यानाकर्षण गराउँदै आइरहेको व्यहोरा सर्वप्रथमत : स्मरण गराउन चाहन्छौं ।
लोकतन्त्र, नागरिक अधिकार, प्रेस स्वतन्त्रता, मुक्ति र सार्वभौमिकताका लागि हरेक कालखण्डमा भएका आन्दोलन, जनआन्दोलन, मधेश आन्दोलनको क्रममा बाँकेबासीले पुर्याएको अतुलनीय योगदान र सक्रिय सहभागिताको स्मरण गराउँदै, प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने तपसीलमा उल्लेखित पर्याप्त साधन स्रोत, पूर्वाधार र सम्भाव्यता समेतलाई दृष्टिगत गरी संविधान र संघीयताको भावना र मर्म बमोजिम “बाँके जिल्लालाई ५ नं.प्रदेशको राजधानी घोषणा गरियोस् भनी बाँकेबासीको तर्फबाट जोडदार माग गर्दछौं ।
यातायात, शिक्षा, स्वास्थ्य सेवा, औद्योगिक लगायतको हरेक दृष्टिकोणबाट पश्चिम नेपालकै केन्द्रविन्दूको रुपमा परिचित ऐतिहासिक तथा प्राचीन नगरी नेपालगन्ज प्रदेश नं. ५ को राजधानी बनाउनका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरु उपलब्ध छन् । प्रदेशको राजधानीका लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधारहरु तपसिल अनुसार भएको व्यहोरा अनुरोध गर्दछौं ।
बाँके जिल्ला प्रदेश नं.५ को राजधानी हुनु पर्दछ भन्ने आधारहरु :
१) बाँकेको ऐतिहासिकता, संघीयताका लागि गरेको संघर्ष, बहुजातिय, बहुभाषिक तथा बहुधार्मिक विविधतापूर्ण सद्भाव र प्रादेशिक राजधानी माग गर्दै गरिएका संघर्षहरुको सम्मान गर्न,
(२) प्रदेश राजधानीका लागि तत्काल आवश्यक पर्ने भौतिक पूर्वाधारहरु पर्याप्त र
सहज उपलब्धता रहेको ।
(३) राजधानी स्थापना पश्चात प्रदेश राजधानीमा वृद्धि हुनसक्ने जनसंख्या,
बसोबास समेतलाई पुग्ने पानीको स्रोत पर्याप्त मात्रामा रहेको ।
(४) राजधानी स्थापना पश्चात निर्माण हुने वृहत शहरीकरण र विस्तारका लागि
आवश्यक पर्ने संरचना र बसोबासका लागि आवश्यक जग्गा जमीनको पर्याप्त
उपलब्धता रहेको ।
(५) बाँके जिल्लासंग यस प्रदेशका सबै जिल्ला र छिमेकी प्रदेश तथा संघीय
राजधानीसँगको सहज कनेक्टिभिटी रहेको ।
(६) आन्तरिक उडानमा देशकै व्यस्त र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको
सुविधा सम्पन्न विमानस्थल नेपालगन्जमा नै रहेको छ । त्यसैगरी नेपालगन्ज—
नयाँ दिल्ली हवाई उडानको प्रकृयामा रहेको र नेपालगन्ज विमानस्थल अन्तर्राष्ट्रिय
विमानस्थलका रुपमा स्तरोन्नतिको लागि आवश्यक पहल भइरहेको ।
(७) भारतसँगको आयात निर्यातमा महत्वपूर्ण पूर्वाधार रहेको, सुख्खा बन्दरगाहको
रुपमा एकीकृृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण भइरहेकोले बाँके जिल्ला
बाट छिमेकी भारत र तेस्रो मुलुकसंगको आयात निर्यातमा सहजता रहेको ।
(८) छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली तथा अन्य विकसित एवं औद्योगिक
शहरहरुसँगको निकटतम तथा सहज पहुँच रहेको ।
(९) मुलुकको आर्थिक विकासको आधार पर्यटननै हो । गेट वे अफ मानसरोवारका
रुपमा रहेको बाँकेबाट दक्षिणको उदीयमान अर्थतन्त्रको सम्वाहक भारतसँगको
नाका रुपैडिहादेखि कर्णाली प्रदेश हुँदै उत्तरी नाका विश्व अर्थतन्त्रको नेतृत्व लिंदै
गरेको चीनको तिब्बतसँग जोडिएको हिल्सा नाकासम्म निकट भविष्यमा सडक
विस्तार भइरहेकाले मुलुककै पर्यटकीय केन्द्रको पर्याप्त सम्भावना रहेको ।
प्रदेश नं.५ नं. प्रदेशको राजधानी बाँके जिल्ला हुनुपर्ने उल्लेखित बलियो आधार हुँदाहुँदै पनि यस जिल्लालाई राजधानी नबनाउने, यस जिल्लामा रहेका क्षेत्र स्तरीय सरकारी कार्यालयहरु अन्यत्र स्थानान्तरण गर्दैजाने, यस जिल्लालाई विकासको मूल प्रवाहमा समाहित नगर्ने, यस जिल्लालाई विकास र न्यायको दृष्टिकोणले पछाडी पार्ने, बाँकेबासीको मर्म र भावनाको अनादर गर्ने लगायतका कामकारवाही नेपाल सरकार, प्रदेश सरकार, राजनीतिक दल वा कोही कसैबाट भएका खण्डमा बाँकेवासी चुप लागेर नबस्ने र बाँकेवासीको सम्मान एवं अधिकार प्राप्तिका लागि र बाँके जिल्लाको सर्वाङ्गिण विकासका लागि विकल्प सोंच्न वाध्य हुने घोषणा समेत यही ज्ञापनपत्र मार्फत् जाहेर गर्दछौं ।
(प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिलाई विकासका लागि नागरिक सरोकार समिति, नेपालगन्ज बाँकेको तर्फबाट संयोजक श्रेष्ठले बुझाएको सुझावपत्र । यो पत्र नेपालगन्जमा बृहद छलफलपछि तयार पारिएको सम्पादित अंश हो )