महिन्द्राका ६ नयाँ उत्पादन नेपालमा


महिन्द्राका ६ नयाँ उत्पादन नेपालमा
काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेड तथा नेपालका लागि उक्त कम्पनीका आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड, एमभी दुगड र स्वराज पार्टनरको संयुक्त आयोजनामा ‘महिन्द्रा उदय २०१९’ सम्पन्न भएको छ । फागुन १० देखि १२ गतेसम्म सञ्चालित शोमा महिन्द्राका विभिन्न ३० भन्दा बढी उत्पादन प्रदर्शन गरिएका थिए ।

कार्यक्रममार्फत महिन्द्राअन्तर्गतको एमभी दुगडले जी ७५ मिनी ग्रेडर रोडमास्टर, ब्लेजो एक्स २५ टिप्पर र फ्युरियो १४ ट्रक, अग्नि ग्रूपले एक्सयूभी ३०० एसयूभी र मराजो पेसेन्जर भेहिकल तथा स्वराज पार्टनरले युभो ४० एचपी ट्र्याक्टर सार्वजनिक गरेका छन् । प्रस्तुत छ, उक्त शोमार्फत नेपालमा सार्वजनिक गरिएका महिन्द्राका ६ ओटा उत्पादनको संक्षिप्त जानकारी :

एक्सयूभी ३००

यो महिन्द्राको पहिलो कम्प्याक्ट एसयूभी गाडी हो । भारतीय अटोबजारमा सार्वजनिक हुनुदेखि नै नेपालमा चर्चित यो गाडी महिन्द्राको नयाँ प्लेटफर्म ‘एक्स–१००’को अवधारणामा बनेको छ । यसको धेरैजस्तो डिजाइन एक्सयूभी–५०० फेसलिफ्टबाट प्रभावित देखिन्छ । डिजेल र पेट्रोल दुवै विकल्पमा रहेको यो गाडीका ४/४ मोडल छन् । पेट्रोल विकल्पमा यसले ५०० आरपीएममा ८१ किलोवाट अधिकतम पावर, ३५०० आरपीएममा २०० एनएम अधिकतम टर्क र डिजेल विकल्पमा ३७५० आरपीएममा ८५ दशमलव ८ किलोवाट अधिकतम पावर तथा २५०० आरपीएममा ३०० एनएम अधिकतम टर्क प्रदान गर्दछ । ६ स्पीड म्यानुअल ट्रान्समिशनमा उपलब्ध यो कारमा ७०२ लिटर बुट स्पेस छ ।
ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको यो गाडीमा सुरक्षाका लागि एयरब्याग, एबीएस, चारै चक्कामा डिस्क ब्रेक, ईबीडी, ईएसपी, ट्र्याक्शन कन्ट्रोल, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ सिस्टम, पावर डोर लक, ओआरभीएममा ट्रन इन्डिकेटर, साइड एयरब्याग, ब्रेक एसिस्ट, हिल एसिस्ट, पछाडिको दृश्य हेर्न उत्कृष्ट साइड लाइट, रियर वाइपर र रेन सेन्सिङ वाइपर जस्ता विशेषता छन् ।

मराजो

मराजो महिन्द्राको हालसम्मको सबैभन्दा ठूलो प्यासेन्जर गाडी हो । शार्क माछाको आकार जस्तो डिजाइनमा निर्मित यसमा पेसेन्जरका लागि ८ ओटासम्म सीटको व्यवस्था छ । १४९७ सीसीयुक्त मराजोले पावर मोडमा ३५०० आरपीएममा १२१ एचपी अधिकतम पावर र २५०० आरपीएममा ३०० एनएम अधिकतम टर्क उत्पादन दिन्छ । त्यस्तै इकोनोमी मोडमा गाडीको अधिकतम पावर ३५०० आरपीएममा ९८ एचपी र अधिकतम टर्क ३००० आरपीएममा २०० एनएम छ । बुट स्पेस १७० लिटर मात्र उपलब्ध यो गाडीमा ४ सिलिन्डरको १ दशमलव ५ लिटर डिजेल इन्जिन छ । सुरक्षाका लागि गाडीमा एयरब्याग, पेसेन्जर एयरब्याग, एबीएस, एबीडी, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी लक, सेन्ट्रल लकिङ, हेडल्याम्प बिम एड्जस्टर, कर्नरिङ लाइट जस्ता विशेषता छन् ।

ब्लेजो एक्स २५

ब्लेजो एक्स २५ महिन्द्राको नयाँ टिप्पर मोडल हो, जसमा ७ दशमलव २ लिटरको एमपावर इन्जिन प्रयोग गरिएको छ । ब्लेजो २५ सीसी टिपर एचसीबी सेक्शनमा २७४ एचपी इन्जिन भएको पहिलो गाडी हो । यो टिप्परले २२०० आरपीएममा २४७ एचपी अधिकतम पावर र १७०० आरपीएममा ९५० एनएम अधिकतम टर्क पैदा गर्दछ । ९ स्पीड गियरबक्स रहेको ब्लेजोले प्रतिघण्टा ६० किलोमिटर अधिकतम दूरी पार गर्न सक्छ । सहायक हाइड्रोलिक पावर ट्याबसहितको स्टेरिङ रहेको यसमा २५० लिटर फ्युल ट्यांक छ । पहिले ६ चक्का र हाल १० चक्कामा उपलब्ध यो गाडी पहाडी तथा अप्ठ्यारो बाटोका लागि बढी उपयुक्त मानिएको छ । न्यून आरपीएम इन्जिन, बहुमोड स्वीचसहितको प्रभावकारी इन्धन, ड्राइभर सूचना प्रणाली आदि विशेषता यसमा छन् ।


युभो ४० एचपी

महिन्द्राको ट्र्याक्टर विक्रीको आधारमा विश्वको सबैभन्दा अगाडि छ । कम्पनीले उत्पादन गरेको पछिल्लो ट्र्याक्टर हो युभो ४० एचपी । यसमा फोर स्ट्रोक, डाइरेक्टर इन्जेक्शन, वाटर कुलिङ इन्जिन प्रयोग गरिएको छ । ४ सिलिन्डरयुक्त यस ट्र्याक्टरले २००० आरपीएममा ४० एचपी अधिकतम पावर पैदा गर्दछ । ८८ एचको ब्याट्री क्षमता रहेको यसमा ४५ ए अल्टिमिटर राखिएको छ । यस ट्र्याक्टरमा मेकानिकल स्टेयरिङ, आयल इम्मर्शड ब्रेक, ड्राई फिक्सन प्लेटको सिंगल क्लच, पोजिशन र ड्राफ्ट कन्ट्रोलसँग लाइभ हाइड्रोलिक सिस्टम आदिको प्रयोग गरिएको छ । युभो ४० मा शक्तिशाली इन्जिन, अत्याधुनिक इन्जिन कुलिङ, २ स्पीड पीटीओ, अत्याधुनिक कन्स्ट्यान्ट मेस ट्रान्समिशन, विशेष कन्ट्रोल भल्व, आरामदायी चालक सीट आदि विशेषता भएको कम्पनीले बताएको छ ।

फ्युरियो १४

नयाँ लोड क्यारियरको यो महिन्द्रा फ्युरियोको तेस्रो संस्करणको हो । यो एक आईसीबी ट्रक हो । हालसम्म आईसीबी ट्रक १२ चक्काम मात्र भित्रिएकोमा यो ६ चक्काको ट्रक हो । यो अन्य ट्रकभन्दा सस्तो हुने कम्पनीले जानकारी दिएको छ । यसअघि भारतीय अटोमोबाइल बजारमा महिन्द्राले फ्युरियो ११ र फ्युरियो १२ सार्वजनिक गरे पनि नेपालमा भने ती आएका थिएनन् । ३५०० सीसीको डिस्प्लेसमेन्ट राखिएको यो ६ चक्के स्मार्ट माइलेजसँगै स्मार्ट टेक्नोलोजीको प्रयोग गरि बनाइएको ट्रक भएको कम्पनीले बताएको छ । यसमा ४ सिलिन्डरसहित ३ दशमलव ५ लिटरको एमडीआईटेक इन्जिन प्रयोग गरिएको छ । यसले २४०० आरपीएममा १४० बीएचपी अधिकतम पावर र १८०० आरपीएममा ५०० एनएम अधिकतम टर्क उत्पादन गर्दछ । टर्बो, लाइट र हेभी गरी तीन इन्जिनमा उपलब्ध यसको अन्य लोड क्यारियरमा सिन्क्रोम क्लच प्रयोग भएको छ । त्यसो हुँदा यो अन्य भन्दा पृथक् देखिन्छ । कम टर्न र न्यून गतिमा धेरै सामान बोक्न सक्नु, सुरक्षामा एयर तथा एबीएस ब्रेक, कम्फोटेबल सिट तथा क्याबिन आदि यसका विशेषता हुन् ।

जी ७५ मिनी ग्रेडर रोडमास्टर

डीआई प्रविधि प्रयोग भएको यो निर्माण उपकरण हो । टर्बोचार्ज इन्टरकुल्ड बीएस थ्रीको ४९१५ एआई सीईभी इन्जिनयुक्त यस मेशिनरीमा ३५३२ सीसीको डिस्प्लेसमेन्ट छ । यो रोडमास्टरले २२०० आरपीएममा ९१ एचपी अधिकतम पावर र १६०० आरपीएममा ३४५ अधिकतम टर्क पैदा गर्दछ । यसमा १२ भोल्टेजको इलेक्ट्रिक सिस्टम भोल्टेज, ओपेन सेन्टर हाइड्रोलिक सिस्टम, १४५ बारको स्टेरिङ, ड्राइभर अनुकूल क्याबिन, दुवैतिर ढोका, लगायत सुविधा छन् । कम्पनीका अनुसार अन्य ग्रेडरभन्दा यसले कम तेल खपत गर्दछ । ४ गियरमा ३८ किलोमिटर प्रतिघण्टा स्पीड दिने यो ग्रेडर डिजेल विकल्पमा उपलब्ध छ ।

प्रकाशित मितिः     १५ फाल्गुन २०७५, बुधबार ०८:५४  |
error: Content is protected !!