नेपालगन्ज : “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” को अवसरमा हुने खुल्ला नृत्य प्रतियोगितामा ६० जना प्रतियोगि छनौट भएका छन् । २ सय ३० जना प्रतिस्पर्धी मध्येबाट बुधवार निर्णायक समितिले ६० जनालाई छनौट गरेको हो । छनौट भएका प्रतियोगितालाई महोत्सवमा हुने प्रतिस्पर्धा सहभागि गराइने महोत्सव सांस्कृतिक समितिका संयोजक तपेन्द्र शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार छनौट भएका प्रतिस्पर्धीलाई पाँचवटा समूहमा बिभाजन गरी महोत्सवमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताको बिजेतालाई रु ५० हजार, उपबिजेतालाई रु ३० हजार, तेस्रोलाई रु २० हजार, चौथोलाई रु १० हजार पुरस्कार दिइने सांस्कृतिक समितिका संयोजक शाहले जानकारी दिनुभयो । बिभिन्न राउण्ड हुँदै १५ जना बीच अन्तिम प्रतिस्पर्धा हुने छ । बुधवारको निर्णायक समितिमा नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हरिशचन्द्र श्रेष्ठ लगायतको शुन्दर गुरुङ्ग,केवी शाही, राकेश गुरुङ्ग, गिता क्षेत्री वर्णवाल, शृंखला बस्नेत,सहभागिता थियो ।
महोत्सवमा फाल्गुण २० गतेदेखि २८ गतेसम्म प्रतियोगिता सन्चालन हुने छ । प्रादेशिक महोत्सव तीन दिन पछि सरेको छ । प्रादेशिक महोत्सव अब फाल्गुण १९ गते आईतबारदेखि फाल्गुण २९ गतेसम्म आयोजना गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना हुने प्रादेशिक महोत्सव २०७५ फाल्गुण १६ गते बिहिवारदेखि फाल्गुण २६ गतेसम्म गर्ने तयारी थियो । तयारी अन्तिम चरणमा पुगेका बेला बुधवार बिहानदेखि नेपालगन्जमा लगातार पानी परेपछि महोत्सव तीन दिन पछि सार्नुपरेको अध्यक्ष बैश्यले बताउनुभयो ।