नेपालगन्जमा उँट !


नेपालगन्ज :  “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” को लागि भारतबाट दुईवटा उँट ल्याईएको छ । भारतको राजस्थानबाट गाडीमा हालेर ल्याईएको उँट बिहिवार नेपालगन्जमा पु¥याईएको हो । उँट महोत्सव स्थलमा राखिएको छ । फाल्गुण १९ गते आईतबार बिहान ९ बजे नेपालगन्ज उद्योग वाणिज्य संघबाट शुरु हुने महोत्सवको झाँकीमा उँटलाई सहभागि गराइने प्रचार प्रसार समितिका संयोजक टंक बहादुर धामीले जानकारी दिनुभयो । प्रादेशिक महोत्सवमा पहिलो पटक नेपालगन्जमा उँट ल्याईएको हो ।
‘महोत्सवमा यसपटक नयाँ गर्न खोज्दै छौ ।’ संयोजक धामीले भने–‘ त्यसैकारण नेपालगन्जका लागि नयाँ उँट ल्याएका छौं ।’ उनका अनुसार हात्ती ल्याउने भनिएपनि नयाँ व्यवस्था अनुसार निकुञ्ज बाहिर लैजान नमिल्ने भएकाले हात्ती ल्याउन सकिएन । प्रादेशिक महोत्सव तीन दिन पछि सरेको छ ।


प्रादेशिक महोत्सव अब फाल्गुण १९ गते आईतबारदेखि फाल्गुण २९ गतेसम्म आयोजना गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना हुने प्रादेशिक महोत्सव २०७५ फाल्गुण १६ गते बिहिवारदेखि फाल्गुण २६ गतेसम्म गर्ने तयारी थियो । तयारी अन्तिम चरणमा पुगेका बेला बुधवार बिहानदेखि नेपालगन्जमा लगातार पानी परेपछि महोत्सव तीन दिन पछि सार्नुपरेको अध्यक्ष बैश्यले बताउनुभयो ।

प्रकाशित मितिः     १६ फाल्गुन २०७५, बिहीबार १८:१७  |