के कस्ता वस्तुहरु नेपालबाट निकासी गर्न पूर्ण वन्देज लगाईएको छ ?
क) पूरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका वस्तुहरु
१) विदेशी तथा स्वदेशी सिक्का
२) देवी देवताको मूर्ति, ताडपत्र, तथा भोजपत्र
३) पौवा
ख) वन्यजन्तुहरु
१) स्तनधारी मा २६ वन्यजन्तुहरु समावेश गरिएका छन्
२) पंक्षीमा ९ किसिमका पंक्षीहरु समावेश गरिएका छन्
३) घस्रने जातका जन्तुहरुमा ३ थरी अजिङ्गर, घडियाल गोही, सुन गोहोरो पर्दछन् ।
ग) आखेटोपहार
(अति संकटापन्न वा संकटापन्न वन्यजन्तुको मृत शरीर वा शरीरको चिन्न सकिने अवस्थामा रहेको कुनै अंश वा अंग वा शरीरको कुनै पदार्थ वा त्यस्तो पदार्थको समीश्रणबाट बनेको वा तयार भएको कुनै पनि वस्तुलाई भनिएको हो)
घ) मादक तथा लागू पदार्थ
(गाँजा, अफिम, चरेस लगायत संयुक्त राष्ट्र संघको लागू औषध तथा मनोद्दीपक पदार्थको ओसार पसार विरुद्ध सन् १९८८ महासन्धी र लागू औषध सम्बन्धमा सन् १९६१ मा भएको एकल महासन्धीद्धारा परिभाषित गरिए बमोजिमका मादक तथा लागू पदार्थ पर्दछन्)
ङ) विष्फोटक तथा खरखजानाका वस्तुहरु
१) विष्फोटक पदार्थ र त्यसलाई चाहिने फ्यूज वा फ्यूजको लागि चाहिने वस्तु
२) जंगी खरखजाना तयारीको लागि चाहिने पदार्थहरु
च) औद्योगिक मेशिनरी, पार्टपूर्जा तथा कच्चा पदार्थ
१) काँचो छाला
२) कच्चा उन तथा जंगली जीवजन्तुको रौं
३) औद्योगिक मिल मेशिनरीहरु र सो को पार्टपूर्जाहरु
छ) वन पैदावार वस्तुहरु
१) पाँच औंले र ओखरको रुखको वोक्रा
२) सम्वन्धित निकायको स्वीकृत वेगर र विना प्रशोधनका जडिवुटीहरुमा
क) जटामसी
ख) सर्पगन्धा
ग) सुगन्धवाल
घ) झ्याउ
ङ) तालीसपत्र
च) लौठ सल्ला
छ) सुगन्ध कोकिला
३) गोलिया तथा चिरान काठमा
क) साल
ख) सतिस साल
ग) विजय साल
घ) ओखर
ङ) जंगली सिसौ
४) प्रशोधन नगरिएको शिलाजित
५) यार्सागुम्वा र कुट्की
६) सुनगाभा÷जिवन्ती, रक्त चन्दन
ज) पेट्रोलियम पदार्थ
१) पेट्रोल
२) डिजेल
३) मट्टितेल
४) एल.पी. ग्यास
५) हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानमा संलग्न हुने वायुयानले प्रयोग गर्ने इन्धन वाहेक)
काठको हकमा कुन कुन वन पैदावार निकासी गर्न सकिन्छ ?
आफ्नो निजी जग्गामा उत्पादन गरिएको सिसौ (जंगली सिसौ वाहेक), टिक, युकालिप्mटस्को गोलिया तथा काठ जिल्ला वन कार्यालयको सिफारिसमा निकासी गर्न पाइन्छ ।
के रक्तचन्दन, सुनगाभा/ जिवन्ती निकासी गर्न सकिंदैन ?
संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार सम्वन्धी महासन्धी जसलाई छोटकरीमा (साइटिस) भनिन्छ सो को अनुसूचिमा सूचिकृत वनस्पतीहरुको हकमा साइटिस महासन्धीको प्रावधान अनुसार गर्नु पर्ने हुन्छ । त्यसैले यी वनस्पति साइटिसको आधिकारिक प्रमाणपत्रविना निकासी वा पैठारी गर्न पाइदैन ।
उद्योगले पैठारी गरेको मिल मेशिनरी कस्तो अवस्थामा निकासी वा विदेशमा विक्रि गर्न सकिन्छ?
१) आयात गरिएको मिल मेशिनरीहरु सो उद्योगको प्रयोगमा नआउने भएमा
२) उद्योग नै बन्द गरेमा
मिल मेशिनरी निकासी प्रक्रिया के के हो ?
उद्योग विभागको सिफारिस लिई दुई पक्षीय सन्धीमा प्रतिकूल असर नपर्ने भए मात्र निकासी गर्न मिल्दछ । यसको मतलव तेश्रो मुलुकबाट आयात गरेका मिल मेशिनरी भारतमा निकासी गर्न मिल्दैन ।
उद्योगले पैठारी गरेको कच्चा पदार्थ निकासी गर्न पाइन्ँछ वा पाईँदैन ?
केही शर्त पूरा गरे पाईन्छ । ती शर्तहरु हुन्
१) पैठारी गरेको कच्चा पदार्थ उद्योगको आफ्नो उत्पादनमा प्रयोग नहुने भए
२) द्धिपक्षीय सन्धीमा प्रतिकूल असर नपर्ने भए
३) उद्योग विभागको सिफारिस भए
कुनै उद्योगले पैठारी गरेको मिल, मेशिनरी, कच्चा पदार्थ, पार्टपूर्जाहरु विवरण अनुसार नभएको वा गुणस्तर नमिलेको अवस्थामा के हुन्छ ?
सोही प्रकारको अर्काे मालवस्तु पैठारी गर्ने वा सो मालबस्तुको लागि पहिले भुक्तानी पठाएको विदेशी मुद्रा फिर्ता ल्याउने शर्तमा सो मालवस्तुको निकासीकर्तालाई नै फिर्ता पठाउन सकिन्छ ।
निकासीमा परिमाणात्मक वन्देज लागेका मालवस्तुहरु छन् छैनन् ?
देहायका खाद्य वस्तुहरुमा निकासीमा परिमाणात्मक वन्देज लगाइएको छ :
धान, चामल, गहँ , रहरदाल र चिनी (यू्रोपेली संघबाट कोटामा प्राप्त हुने वाहेक)
हुलाक पुलिन्दाबाट कति मूल्यसम्मको वस्तु निकासी गर्न पाइने व्यवस्था छ ?
१) स्वीकृत बैंकिङ्ग प्रणाली अन्तर्गत भूक्तानी हुने भए अमेरीकी डलर पाँच हजार मूल्यसम्मको
२) विना बैंकिङ्ग भूक्तानीको हकमा अमेरीकी डलर पाँच सय सम्मको
अमेरिकी डलर पाँच हजार वा पाँच सय भन्दा बढी मूल्यको वस्तुको हकमा के व्यवस्था छ ?
यसका लागि वाण्ज्यि तथा आपूर्ति व्यवस्था विभागबाट इजाजत लिनु पर्ने हुन्छ ।
कुनै अन्तर्राष्ट्रिय प्रतिष्ठित वस्तु उत्पादक कम्पनीको नेपालको वितरक एजेन्सीको हकमा वस्तु निर्यातको व्यवस्था के छ ?
क्षेत्रगत आधारमा कम्पनीको वितरकको रुपमा तोकिएको नेपाली एजेन्सीले उक्त कम्पनीको वस्तुलाई विना इजाजत सो मुलुकमा निर्यात गर्न पाउने व्यवस्था छ ।
कस्ता कस्ता वस्तुहरुलाई खुलारुपमा निकासी गर्न सकिन्छ ?
१) निकासीमा प्रतिवन्ध नलागेका वस्तुहरु
२) निकासी गर्न कुनै निकायको सिफारिस आवश्यक नपर्ने वस्तुहरु
निकासी प्रयोजनको लागि मालवस्तुको उत्पादनस्थल वा गोदाममा गई भन्सार जाँचपास गरिदिने व्यवस्था छ ?
छ । यसका लागि प्रथमतः प्रज्ञापनपत्र भरी आवश्यक कागजात संलग्न गरी सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्दछ । व्यहोरा उचित भए भन्सार जाँच गरिदिने व्यवस्था छ । यस प्रकार जाँच गर्दा प्रति कन्सान्मेन्ट एक हजार रुपैया शुल्क वापत बुझाउनु पर्दछ । र यातायातको साधन प्रयोग गर्नु पर्ने भएमा सो को व्यवस्था सम्वन्धित पक्षले नै गर्नु पर्दछ ।
यार्सागुम्बाको निकासी गर्दा कुनै निकायको सिफारिस आवस्यक पर्छ, पर्दैन ?
यार्सागुम्बाको निकासी गर्दा बन बिभागको स्वीकृति लिएर मात्र निकासी गर्न पाइन्छ ।
तेस्रो मुलुकबाट आयातित सामान अन्य मुलुकमा निकासी गर्न पाइन्छ, पाइदैन ?
भारत बाहेक अन्य तेस्रो मुलुकमा निकासी गर्न कुनै बाधा छैन ।
नेपालबाट चामल निर्यात गर्न सकिन्छ कि सकिंदैन ?
निकासीमा परिमाणात्मक बन्देज लागेका वस्तुहरुको सुचीमा चामल पर्ने हुँदा बाणिज्य ब्यबस्थापन विभागको इजाजत लिएर मात्र चामल निकासी गर्न सकिन्छ ।
Biological Fluid निकासी गर्न सकिन्छ, सकिदैन ?
उक्त वस्तु निकासी गर्न प्रतिबन्ध लागेको छैन । निकासीका लागि तोकिएका प्रक्रियाहरु पूरा गरी निकासी गर्न सकिन्छ ।
हवाईजहाज, हेलिकप्टर वा तिनको इन्जिन मर्मत लागि बिदेशमा लैजादा के कति धरौटी राख्नु पर्दछ ?
यस्ता मालवस्तु मर्मतका लागि बिदेशमा लैजानु परेमा सम्बन्धित बायुसेवा कम्पनीको जमानीमा भन्सार अधिकृतले बिनाधरौटी लैजान दिन सक्ने व्यवस्था रहेको छ ।
निकासी गर्दा उत्पत्तिको प्रमाणपत्र पेश गर्नु अनिवार्य छ ?
छ । तर जि.एस.पी. जारी भई निकासी हुनेको हकमा उत्पत्तिको प्रमाणपत्र पेश गर्नु वाध्यकारी छैन ।
निकासी हुने मालबस्तुको वीजक FOB आधारमा हुनु के अनिबार्य छ ?
निकासी हुने मालबस्तुको वीजक FOB वा अन्य जुनसुकै भुक्तानीको शर्तमा जारी गर्न पाइन्छ ।
स्रोत : भन्सार बिभाग